१३ वाणिज्य बैंकको लाभांश घोषणा, एन आइ सी एशिया र हिमालयन बैंकको धेरै


प्रकाशित: मंसिर १७, बुधबार, काठमाडौँ ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश वितरण गर्ने क्रम बढिरहेको छ । हालसम्म नेपालमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये १३ वटा बाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । तिमध्ये दुई वटा बैंकको लाभांश साधारण सभाले पारित समेत गरिसकेको छ । सबै भन्दा पहिले साधारण सभा गरेर सानिमा बैंकले लाभांश पारित गरेको हो ।

सानिमाका लगानीकर्ताले खातामा केहि समयभित्रै १३.६० प्रतिशत लाभांश प्राप्त गर्नेछन् । जसमा १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूले पनि साधारण सभा नै गरेर लाभांश पारित गरिसकेको छ । यो बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिँदैछ । जसमा १० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ ।

हालसम्म लाभांश घोषणा गर्ने बाणिज्य बैंकहरुमध्ये सबै भन्दा धेरै एन आइ सी एशिया बैंक र हिमालयन बैंक रहेका छन् । यी दुबै बैंकहरुले लगानीकर्ताहरुलाई २०/२० प्रतिशत लाभांश घोषणा गरेका छन् । एन आइ सी एशियाले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भनेको छ । हिमालयन बैंकले भने १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ ।

नेपालको पुँजी बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेका बाणिज्य बैंकहरुको लाभांशले बजार बढाउन भूमिका खेलेको बताउने गरिएको छ । कोरोनाका कारण लाभांश केहि संकुतिच भएपनि वाणिज्य बैंकहरुले लाभांश घोषणा गरे लगत्तै दोस्रो बजारले पनि नयाँ उचाई हासिल गरिरहेको छ । जसमा लामो समय स्थिर जस्तो देखिएको बैंकको शेयरमूल्य चलायमान अवस्थामा देखिएको छ ।

यस्तैमा, सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश दिँदैछ । सोमध्ये ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश छ । एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश छ । नेपाल बंगलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने भनेको छ । त्यसमा ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश छ ।

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश छ । स्ट्याण्डर्ड चाटर्डले ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश छ । माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश दिँदैछ । जसमध्ये ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद छ ।

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिँदैछ । जसमध्ये ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश छ । कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने भनेको छ । त्यसमा १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद छ । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने भनेको छ । जसमा ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial