पेलिए उखुजस्तै किसान


काठमाडौं ।
उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। 

उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्।

उखु उद्योगीबाट सधैं पेलिएको किसानको गुनासो छ। करिब साढे तीन लाख रुपैयाँ बक्यौता रकम नपाएपछि आन्दोलन गर्न काठमाडौं आएको सर्लाहीका किसान रामबाबु मण्डलले बताए। ‘२०७१ सालदेखिको रकम खप्टिँदै आएको छ,’ माइतीघरमा भेटिएका मण्डलले भने, ‘चिनी उद्योगले भुक्तानी दिन आलटाल गर्दै आएका छन्।’ मण्डलले महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी छ। उखु जस्तै आँफूहरु पेलिएको किसानको दुखेसो छ।

किसानले उत्पादन गरेको उखुबाट चिनी बनाएर उद्योगी मोटाए पनि उखु किसानले उखुजस्तै पेलिएको महसुस गर्दै आएका छन्। वर्षौंदेखि उखु बिक्री गरेबापतको रकम भुक्तानी नपाएपछि किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन्। किसान मार्न पाइँदैन, सरकार किसानलाई बाँच्ने अधिकार देऊ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस जस्ता नारा लेखिएका प्ले कार्ड लिएर करिब एक सय किसान प्रदर्शनमा उत्रिएका थिए। विभिन्न जिल्लाबाट आएर दिउँसो माइतीघरमा प्रदर्शन गरेका किसान बेलुका गौशालास्थित धर्मशालामा बसेका छन्।

मुलुकभर १४ चिनी उद्योग छन्। तीमध्ये ६ उद्योगले किसानलाई ८९ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम तिर्न बाँकी छ। चारवटा उद्योग बन्द भइसकेका छन्। रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड, महालक्ष्मी सुगर मिलको ६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रुपैयाँ बक्यौता बाँकी रहेको किसानले बताएका छन्।

अन्नपूर्ण चिनी उद्योग सर्लाही, श्रीराम सुगर मिल रौतहट, लुम्बिनी चिनी कारखाना नवलपरासी र इन्दिरा चिनी मिल नवलपरासी बन्द भएका छन्। सर्लाहीका किसानको मात्र ३६ करोड रुपैयाँ बक्यौता छ। अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सर्लाहीका उखु किसान राकेश मिश्रले बताए। रकम भुक्तानीको माग गर्दै करिब दुई सय किसान राजधानी आएको मिश्रले बताए।

गत साल पुसको पहिलो साता काठमाडौंमा आन्दोलन गरेका किसान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बक्यौता रकम भुक्तानी दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएपछि जिल्ला फर्किएका थिए। सरकारले दिएको आश्वासन पूरा नभएपछि आन्दोलन गर्न बाध्य भएको उखु किसान संघर्ष समितिका सचिव हरिराम रायले बताए। ‘मन्त्रीले गरेको प्रतिबद्धता पनि पूरा भएन,’ रायले भने, ‘बाध्य भएर काठमाडौं आएर आन्दोलन गर्नु परेको हो।’ बक्यौता रकम भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोनल नरोकिने रायले बताए। यो पटक रकम नपाएसम्म नफर्किने उनले बताए।

किसानको समस्या सम्बोधन गर्न पहल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। किसानले आन्दोनल सुरु गरेपछि मन्त्री भट्टले आइतबार किसान प्रतिनिधिसँग अनौपचारिक छलफल गरेका थिए। किसानका समस्या सम्बोधन गर्न पहल भइरहेको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्। ‘किसान प्रतिनिधिसँग मन्त्रीज्यूले अनौपचारिक छलफल गर्नु भएको छ,’ केसीले भनिन्, ‘दुवै पक्षलाई राखेर छलफलबाट समस्या समाधानका प्रयास गर्छौं।’- आजको नागरिक दैनिकमा खबर छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial