त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थपिए ४ वटा रिफ्युलर


काठमाडौं ।
नेपाल आयल निगमले १० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्ने चार नयाँ रिफ्युलर (ट्यांकर) थपेको छ । अन्तर्राष्ट्रिय उडानलाई सहज रुपमा हवाई इन्धन भर्नका लागि निगमले २७ हजार लिटर क्षमताका चार वटा नयाँ रिफयुलर सञ्चालनमा ल्याएको हो । १२ करोड ७७ लाख रुपैयाँको लागतमा चार वटा रिफ्युलर खरिद गरेर सञ्चालनमा ल्याइएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार ३ करोड १९ लाख २५ हजार रुपैयाँको दरमा रिफ्युलर (ट्यांकर) खरिद गरिएको छ । रिफ्युलरले डिपोबाट हवाई इन्धन भरेर जहाजमा भर्ने काम गर्छन् । यसअघि अन्तराष्ट्रिय उडानका जहाजका लागि तीन वटामात्र रिफ्युलर हुँदा उडानको चाप भएको बेला इन्धन भर्नका लागि अपुग भएपछि नयाँ थप गरिएको निगमले जानकारी दिएको छ । कोरोना महामारीका कारणले उडान कम भएकाले आपूर्तिमा कुनै समस्या नभए पनि सामान्य अवस्थामा व्यवस्थापन गर्न समस्या पर्ने गरेको निगमको भनाइ छ ।

यसअघि अन्तर्राष्ट्रिय उडानका लागि तीनवटा रिफ्युलरको ब्यवस्था गरिए पनि दुई वटा रिफ्युलरले मात्र नियमतिरुपमा इन्धन भर्दै आएका थिए । अन्तर्राष्ट्रिय उडानमा दैनिक ७ हजारदेखि ४० हजार लिटरसम्म इन्धन रिफ्युल हुने हुँदा कम क्षमताको रिफ्युलर हुँदा इन्धन भर्न धेरै समस्या हुने गरेको थियो । नयाँ रिफ्युलरपछि अब सहज हुने हवाई इन्धन डिपो सिनामंगलका प्रमुख अभिषेक ठाकुरले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा यसअघि आन्तरिक र वाह्य उडानका लागि तेल भर्न २७ हजार लिटर क्षमताका दुईवटा, १६ हजार लिटरका चारवटा र ११ हजार लिटर क्षमताको एउटा रिफ्युलर थियो । अबका दिनमा ११ वटा रिफ्युलरले एकपटकमा २ लाख ३७ हजार लिटरसम्म इन्धन भर्ने छन । सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक पाँच लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । आन्तरिकतर्फ एक लाख र अन्तर्राष्ट्रियतर्फ चार लाख लिटरसम्म इन्धन खपत हुने गरेको ठाकुरले बताए ।

सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक पाँचदेखि सात लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । आन्तरिकतर्फ एक लाख र अन्तर्राष्ट्रियतर्फ चार लाख लिटरसम्म इन्धन खपत हुने गरेको ठाकुरले बताए । कोभिडको कारणले सात महिनादेखि उडान ठप्प अवस्थामा रहेका थिए । केही समयदेखि उडान सुरु भएसँगै हवाई इन्धनको खपत पनि बढ्दै गएको छ । अहिले एक लाख ५० हजारदेखि दुई लाख लिटरसम्म दैनिक हवाई इन्धन खपत हुने गरेको हवाई इन्धन डिपो कार्यलय सिनामंगलले जानकारी दिएको छ ।

यसअघि निगमले नयाँ रिफ्युलर खरिद गर्न नसक्दा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट भाडामा लिएर चलाएको थियो । नयाँ रिफ्युलर सञ्चालनमा आउने भएपछि एक महिनाअघि २७ हजार र १६ हजार लिटरको दुईवटा रिफ्युलर फिर्ता गरेको छ भने १६ हजार लिटर क्षमताको दुईवटा रिफ्युलर जनकपुर विमानस्थलमा प्रयोग गरिरहेको छ । सिनामंगल डिपोमा ७० लाख लिटर क्षमताको हवाई इन्धन भन्डारण रहेको छ ।

नयाँ बनिरहेका भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर थप रिफ्युलर सञ्चालन गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । उपत्यकाबाहिर रहेका विमानस्थलमा हाल २० वटा रिफ्युलरले हवाई इन्धन भर्ने काम गरिरहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial