आर्थिक कूटनीतिलाई बढावा दिन्छुः डा खतिवडा


काठमाडौं ।
अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्दै निजी तथा बहुपक्षीय लगानी जुटाउने विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसङ्घसँगले आइतबार आयोजना गरेको अन्तरक्रियामा पूर्वअर्थमन्त्रीसमेत रहेका डा खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

अमेरिकाले केही वस्तुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिकास्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको थियो ।

परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले भने, ‘हामीले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएका छौँ । नेपालको अर्थतन्त्रको कुशल विज्ञका रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसक्नुभएका डा खतिवडाको अनुभवले पनि नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पूँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसङ्घले लिएको छ ।’

अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियत दिनुपर्ने तथा अमेरिकी लगानी भित्र्याएर अर्थतन्त्रको आधुनिकीकरण गर्न पनि राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको अध्यक्ष मोरको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial