रियल समूह विजेता: पुग्यो नकआउट चरणमा


प्रकाशित: मंसिर २५, बिहिबार, एजेन्सी । 

स्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुधबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो । 

समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो । यस समूहबाट रियल शीर्षस्थानमा रहेर नकआउट चरण पुग्दा मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको छ ।

रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८-८ अंक रहयो । हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिग खेल्नेछ । ६ अंकसहित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको छ ।

खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता लियो । लुकास भाज्केजको क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । रियलले जर्मन टोलीविरुद्ध बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जर्मन टोलीका गोलरक्षक यान सोमरले केहि उत्कृष्ट बचाउ गरे ।

३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यसअघि पाहुना टोलीका फरवार्ड एलेसन प्लेयाले वन भर्सेस वनमा गरेको प्रहार बाहिरिंदा रियलको अग्रता जोगिएको थियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा गोलरक्षक सोमरले टोनी क्रुसको प्रहारमा उत्कृष्ट बचाउ गर्दै रियललाई अग्रता बढाउन दिएनन् । ७३ औं मिनेटमा सोमरले अर्को उत्कृष्ट बचाउ गरे । रामोसको हेडरलाई सोमरले बचाएपछि आएको रिबाउन्डमा बेन्जेमाको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial