नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा : नारायणकाजीलाई बाबुराम र ईश्वरको ‘टुच्च’


प्रकाशित: मंसिर २७, शनिबार, काठमाडौँ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि उहाँ विवादमा तानिनु भएकाे हाे ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । भिडियो र अडियोमा देखिएका सुनिएका संवादमा श्रेष्ठले लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने कोशीश गर्नुभएकाे देखिन्छ । तर, त्यो भिडियो कहिलेको हो भनेर खुलाइएको छैन ।

यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गर्नुभएकाे थियाे । बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गर्नुभएकाे स्पष्ट सुन्न सकिन्छ ।

श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभएकाे बेला लामालाई उहाँकै प्रस्तावमा दक्षिण कोरियाका राजदूत बनाएर पठाइएको थियो, त्यसवापत लामाले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरिदिनु भएकाे थियाे ।

श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन र इन्द्राको पक्ष लिएको र लामालाई नै व्यवाहार मिलाउनका लागि घुमाउरो दबाब दिइरहेको सुन्न सकिन्छ । ‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे । मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्,’ र्सावजनिक अडियो भिडियोमा श्रेष्ठले भन्नुभएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन ।

निधन हुनुभन्दा ६ दिन अगाडी लामाले आफ्नो पीडा सामाजिक सञ्जालमा राख्नु भएको थियो । लामाले लेख्नुभएकाे थियाे- ‘हाम्रा माहान पार्टीका माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन, थुईक्क जाली फटाहा द्रव्य पिशाचहरू।’ लामाले श्रेष्ठकाे नाम किटन नगरि लेख्नुभएपनि उहाँले श्रेष्ठप्रति नै संकेत गर्नुभएकाे थियाे ।

त्यसमा इन्द्रमायाले आर्थिक कारोबारका विषयमा खुलेर भन्नु भएको छ । इन्द्रमायाले समाजिक सञ्जालमाै लेख्नुभएकाे छ- ‘आज आफ्नै मान्छेको स्टाटस देखेर अचम्म लाग्यो । आफ्नो घरको कुरो सामाजिक सञ्जालमा छरपस्ट पारेर अरुलाई मिथ्य आरोप लगाएर आखिर के गर्न खोजेको ? आफ्नो घरभित्रको समस्या आफैले समाधान गर्ने हो, अरुलाई दोष लगाएर समाधान हुँदैन । अलिकति आफ्नो इज्यत बाँकी छ भने यस्तो कार्य बन्द गर्नुहोस् ।’

यसले पनि लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन भन्ने पुष्टि गर्छ । लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेख्नुभएकाे थियाे ।

यता प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताउनुभएकाे छ । उहाँले लामाकै अनुरोधमा आफू मध्यस्थता बनेकाे स्वीकार्नु भएकाे छ । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ,’ श्रेष्ठले भन्नुभयाे ।

श्रेष्ठले आफू गलत नभएकाे र जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुने बताउनुभयाे । आफू दोषी देखिए दण्ड भोग्न तयार भएकाे समेत प्रवक्ता श्रेष्ठले बताउनुभयाे । प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गर्नुभएकाे थियाे ।

कम्युनिष्ट आन्दोलनका एक हस्ती तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको बुधबार निधन भयो ।

मृत्युअघि उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको सन्देश र उनको मृत्युपछि बाहिरिएको अडियो र भिडियोले सत्तारुढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका हुन् ।

लामाको सन्देश र सार्वजनिक भएको अडियोलाई जोडेर हेर्न सकिने केही शंकास्पद वाक्यांशहरु छन् । लामाले लेखेका छन्-

"तिमी यसलाई सामान्य लोग्ने-स्वास्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नु पर्छ भन्छन् । छ्या कति कुरुप सिलावरको डेक्ची कुचिएझै कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !

प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन मैले शीरमा राखेको थिएँ ! ढोंगीहरुलेत हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार !

जे होस तिम्रा जालझेल खेती सप्रेको नै छ । साधा जीवन, उच्च विचारका होर्दिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ । त्यो कत्तिको सहज लाग्छ कुन्नि ! मलाई त हाँडी घोप्टेजस्तो लाग्छ !

ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ ! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ ! हाँडीमा खिचडी बसाएर दुई बुढाबुढी गीत गाएर नाँची बसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ ! यही केशले हाँडीघोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !

हाम्रा महान पार्टीका महान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ ! थुई..क्क जाली फटाहा द्रव्य पिसाचहरु ! "

उता कडा अन्तरसंघर्षमा फरक धारमा रहेका प्रवक्ता श्रेष्ठका सहकर्मी तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि लामालाई श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठलाई ‘टुच्च’ आक्रमण गरेका छन् । उनले विहीबार एक ट्वीट सन्देशमा लेखेका छन्, ‘कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई- अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ। अलविदा कमरेड कमानसिंह लामा !’

- निउज २४ टिभि  र  साझापोस्ट बाट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial