रिहापछि जंघिए नेता पौडेल


प्रकाशित: मंसिर १८, बिहिबार, दमौली ।

निषेधाज्ञा तोडेको आरोपमा बुधबार अपराह्न प्रहरी कार्यालयमा राखिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि छाडिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल बुधबार साढे ५ बजे मुक्त भएका हुन् ।

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए ।

“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, उनले भने, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।” प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।

थप कार्यक्रमहरु सार्वजनिक गरिने:

जिल्ला कांग्रेस तनहुँले आहिजो भएको घटनाको विरोध गर्दै आज बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गरे ।

हिजो अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको कांग्रेसले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा बुधबार बिहान विरोधसभा आयोजना गरेको थियो ।

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

वरिष्ठ नेता पौडेल कांग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial