आत्मघाती गोलमा रियल मड्रिडको जित


प्रकाशित: मङ्सिर २१, आइतबार, एजेन्सी । 

स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार सेभियाको मैदानमा जित हासिल गरेको छ । रियलले १-० कठिन जित दर्ता गर्दा सेभियाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका लागि बाधक बनेका थिए । उनले ३८ औं मिनेटमा करीम बेन्जेमाको उत्कृष्ट प्रहारलाई डाइभ दिँदै विफल पार्दा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसअघि रियलका लागि भिनिसियस जुनिअर र रोड्रीगो सिल्भाले पनि अग्रता दिने अवसर गुमाएका थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा लुक डे जोङको एक्रोब्याटिक प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउँदै खेल गोलरहित राखेका थिए । खेलको ५५ औं मिनेटमा रियल म्याड्रिडले गोलरक्षक यासिन बोनोउको आत्मघाती गोलमा अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको लो क्रसलाई भिनिसियस जुनिअरले पेनाल्टी क्षेत्रभित्र हल्का छोएपछि बल गोलरक्षक बोनोउको हातमा लाग्दै गोल भएको थियो ।

खेलको अन्तिम २० मिनेटमा सेभियाले बल पोसेसनमा पकड राख्दै आक्रमण बुनेपनि रियलको डिफेन्सले क्लिन सिट राख्न सफल रहयो । काउन्टर अट्याकमा बेन्जेमा र भिनिसियसको तालमेल नमिल्दा भने रियलले अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो ।

यस जितसँगै रियलले ला लिगमा तीन खेलको जितविहिन यात्रामा पूर्णविराम लगाएको छ । यस जितले रियल ११ खेलमा २० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । सेभिया भने १० खेलमा १६ अंकसाथ पाँचौ स्थानमा छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial