कोरोना प्रभावित अमेरिकी नागरिकले पुनः २ हजार डलर राहत रकम पाउने


गणेश थापा

क्यालिफोर्निया । कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावित प्रत्येक अमेरिकी नागरिकलाई सरकारले पुनः २ हजार डलर बराबरको राहत रकम दिने भएको छ ।

संयुक्त राज्य अमेरिका कोभिड–१९ बाट विश्वको सवैभन्दा बढी प्रभावित मुलुक हो । महामारीको चपेटामा परेका अमेरिकी नागरिकलाई तत्कालै पाउनेगरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

आफ्ना नागरिकलाई अमेरिकाले यसअघि पनि गत अप्रिलमा १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो । कोरोना भाइरसको संक्रमणका कारण यतिवेला अमेरिकाले संसारकै सवैभन्दा धेरै मानवीय तथा आर्थिक क्षति व्यहोरिरहेको छ । कोरोना संक्रमणबाट त्यहॉ अहिलेसम्म ३ लाख ४३ हजार बढी मानिसको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।

समाचार संस्था न्यूजब्रेकका अनुसार आज अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स्) बाट भारी मतका साथ पारित ९ सय बिलियन डलर बराबरको राहत प्याकेज सम्बन्धीको उक्त विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेका छन् । अब यो बिललाई अन्तिम निर्णयका लागि माथिल्लो सदन (सिनेट) मा तत्कालै पेश गरिने भएको छ ।

अमेरिकीहरूका लागि ज्यादै मानिएको यो आकस्मिक राहत प्याकेज सम्बन्धीको सो विधेयक सिनेटबाट पारित भएलगत्तै कार्यान्वयनको तहमा जाने सिनेटरहरूले बताएका छन् ।

सत्तारूढ दल रिपब्लिकन र विपक्षी डेमोक्रेटिकका सांसदहरूको संयुक्त प्रयासमा ल्याइएको उक्त राहत प्याकेजमा २ हजार डलरको चेक वितरण गर्नेदेखि रोजगार गुमाएकालाई राज्यले दिने वेरोजगारी विमाका अतिरिक्त ३ सय डलरको साप्ताहिक बेरोजगारी भत्ता दिने विषयलाई समावेश गरिएको छ भने वेरोजगार विमाको अवधि ११ हप्तासम्म थपिएको छ ।

गत अप्रिलपछिको दोस्रो ठूलो यो राहत प्याकेजले कोरोना भाइरसको महामारीबाट प्रभावित साना तथा मझौला व्यापार व्यवसायलाई आर्थिक सहायता प्रदान गर्नेदेखि सर्वसाधारणलाई घरविहिन हुनबाट जोगाउनका लागि आवश्यक आर्थिक सहयोग एवम् बालबालिकाको पोषण तथा शिक्षा लगायतका विविध पक्षलाई पनि समेटेको बताइएको छ ।

सरकारले यसअघि विभिन्न चरणमा गरी कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि अमेरिकाको इतिहासमै सर्वाधिक तीन ट्रिलियन डलरभन्दा बढी राशीको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ ।

विधेयकमा राज्यको कर प्रणालीमा आबद्धभई वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने प्रत्येक वयस्क मानिसले २ हजार डलरको चेक आपतकालिन राहत स्वरूप पाउने छन् भने कोरोना महामारीका कारण काम गुमाएकाहरूलाई साप्ताहिक ३ सय डलर कम्तीमा १० हप्ताका लागि दिइने कुरा समेटिएको वताइएको छ ।

यसअघि १२ सय डलरको राहत चेक प्राप्त गर्नेहरू थप यो २ हजार डलरको चेक प्राप्त गर्न स्वतः योग्य हुने विषय बिलमा उल्लेख गरिएको छ । अमेरिकामा यसअघि काम गुमाएका झण्डै तीन करोड ६० लाख बढी मानिसले आफ्नो रोजगारी गुमेको भन्दै वेरोजगारी बीमाका लागि फारम भरेका थिए । तर, अहिले बजारमा मानिसहरूको चहलपहल बढेको तथा काममा फर्किनेको संख्यामा समेत वृद्धि भइरहेका कारणले गर्दा उल्लेखित वेरोजगार संख्यामा कमी आएको बताइएको छ । अमेरिकाको जनसंख्या ३३ करोड रहेको छ ।

करीव ३ लाख नेपालीहरूको बसोबास रहेको अनुमान गरिएको अमेरिकामा झण्डै ५० हजार नेपालीले अमेरिकाको नागरिकता प्राप्त गरेको तथा करीव १ लाखको हाराहारीमा रहेका ग्रीनकार्ड होल्डरसहित अन्य विभिन्न स्टाट्समा रहेका समेत गरी लगभग २ लाख नेपालीहरू यस राहत प्याकेजबाट लाभान्वित हुने एक सामाजिक अभियान्ताले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial