व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी


प्युठान । सरुमारानी गाउँपालिका–२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आएका छन् ।

करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताएका उनि रोजगारीका लागि चार वर्ष मलेशिया समेत बसे । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने सोचसहित घर फर्किएर उनले विसं २०६८ जेठमा आठ सय गाँजबाट घाँसखेती शुरुआत गरेका हुन् । उनि भन्छन, ‘बाँझोबारीमा परम्परागत रुपमा अन्नबाली लगाउँदा परिवार पाल्न गाह्रो भएपछि घाँसखेतीमा लागेँ ।’

उनले विसं २०७१ मा हरियाली ताजा केरा तथा घाँस नर्सरी फार्म दर्ता गरी व्यावसायिक रुपमा घाँसखेती शुरु गरेका थिए । ‘परम्परागत रुपमा खेती गर्दा ६ महिना पनि खान पुग्न छाडेपछि घाँसखेतीतर्फ आकर्षित भएँ’, उनले भने, ‘अहिले घाँसखेतीबाट राम्रै आम्दानी लिएको छु । आफ्नै २० रोपनी क्षेत्रफल जग्गामा घाँस लगाएको छु ।’

फार्ममा १४ प्रजातिका पाँच हजार घाँसका गाँज हुर्किएका छन् । उनले तत्कालीन भेटनरी कार्यालयबाट निःशुल्क रुपमा घाँस लिई उत्पादन शुरु गरेका थिए । फार्ममा हाल डाले तर्फ शितलेस, इपिलिपी, बगानो, भटमासे, नेपियर, सिओ फोर, सियो थ्री, सुपर नेपियर, मलाटो, पाँच फलामलगायतका घाँस रहेका छन् ।

फार्ममा उत्पादन भएका घाँसका बिरुवा बेच्नका लागि समस्या नभएको किसान कुमालले जानकारी दिए । उनका अनुसार घाँस खरिद गर्नका लागि ग्राहक घरमै आउने गरेका छन् । उनले उत्पादन गरेका घाँसका बेर्ना जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, दाङ, बाँके, सुर्खेतलगायतका क्षेत्रमा खपतहुँदै आएको छ ।

रु दुई लाख ५० हजार लगानी भएको घाँसखेतीबाट आम्दानी सोचेजस्तै भएको उनले जानकारी दिए । ‘विदेशमा भन्दा यहाँ खुशी छु,’ उनले भने, ‘अन्यखेतीको तुलनामा घाँस खेती गर्न सहज छ ।’ घाँसखेतीलाई वर्षमा एक पटक मलजल गरे पुग्ने उनको भनाइ छ ।

घाँसखेतीबाट उनले अघिल्लो वर्ष रु चार लाख ५५ हजार र चालु वर्ष २०७७ को हालसम्म रु दुई लाख ८२ हजार आम्दानी लिएका छन् । साविकको जिल्ला पशुसेवा कार्यालय प्यूठान र किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयूबिके) मार्फत घाँसको बीउ उपलब्ध भएको बताइएको छ ।

यस्तै सिँचाइका लागि पशुसेवा केन्द्र दाङले घाँस सिँचाइका लागि २०७६ मा रु पाँच लाखको ट्याङ््की अनुदानमा समेत दिएको थियो । ट्याङ्की भएपछि सिँचाइका लागि थप सहज भएको समेत उनले बताए ।

घाँससँगै केराखेती
किसान कुमालले घाँससँगै केराखेती पनि गर्दै आएका छन् । उनले तत्कालीन कृषि कार्यालयबाट ५० प्रतिशत अनुदानमा डेढ बिघा क्षेत्रफलमा मालभोक जातको पाँच हजार केरा लगाएका छन् । उनले भने, ‘अगिल्लो वर्ष रु एक लाख ६५ हजार र चालू आवमा रु एक लाख बराबरको केरासमेत बिक्री गरेँ ।’ उत्पादित केरा घरबाटै खपत हुने गरेको उनको भनाइ छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial