सगरमाथाको उचाइ ०.८६ मी ले बढ्यो


प्रकाशित: मंसिर २३, मङ्गलबार, काठमाडौँ । 

सगरमाथाको उचाइ ०.८६ मिटरले बढेको छ । यसअघि ८८४८ मि रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेर ८८४८.८६ मि पुगेको हो । आज(मङ्गलवार) नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरे ।

आर्थिक वर्ष ०७५/७६ देखि शुरु गरिएको सगरमाथाको उचाइ मापन प्रक्रिया हालै सम्पन्न भएर मन्त्रीपरिषद्को बैठकले सार्वजनिक गर्ने अनुमति दिएपश्चात् घोषणा गरिएको हो ।

खुशीको कुरा के छ भने यसपालि नेपाल सरकारले पहिलोपटक आफ्नै लागत र जनशक्तिसमेत खर्चेर सगरमाथाको उचाइ मापन गरेको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप नेपाल र चीन दुवै पक्षका सरकारी टोलीहरुको संयोजकत्वमा उचाइ नापिएको छ । दुवै देशले एकै समयमा नयाँ उचाइ घोषणा समेत गरेका छन् ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मासगरमाथाको उचाइ मापन गरेको थियो जुन हालसम्म कायमै थियो ।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि गएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रवीन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन टोलीमा थिए । त्यस्तै, पिक प्रमोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पा, आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले यस कार्यमा गाइडको काम गरेका थिए ।

कसरी नापियो उचाइ ?
सन् २०१७ को डिसेम्बरमा नेपाल सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय स्तरको कार्यशालामा अमेरिका, जापान, चीन, भारत, न्यूजिल्याण्ड, इटली लगायतका देशहरूको उपस्थिति थियो जसमा सगरमाथाको उचाइ मापन गर्ने प्रविधि र पद्धतिका बारेमा छलफल भएको थियो ।

जस अन्तर्गत दुई प्रकारका प्रविधि : जिपिएस प्रविधि र ग्लोबल नेभिगेशन स्याटेलाइट सिस्टम(जिएनएसएस) अपनाएर उचाइ मापन गरिएको हो ।

सन् २०१९ मा मापन टोलीका दुईजना नापी विभागका अधिकारीहरू शेर्पा गाइडसँग सगरमाथाको चुचुरोसम्म ग्लोबल नेभिगेशन स्याटलाइट सिस्टम (जीएनएसएस) नामक उपकरण साथमा लिएर पुगेका थिए । चुचुरोमा १ घण्टा १६ मिनेट रहेर उपकरणमार्फत् भूउपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरुत्वाकर्षण, मौसम सम्बन्धि तथ्याङ्कहरु संकलन गरियो ।

त्यस्तै, चुचुरोमा राखिएको उपकरण र सगरमाथालाई मध्य भागमा राखेर चारै दिशातर्फ नियन्त्रण बिन्दूहरुमा राखिएको उपकरणबाट उचाइको तथ्याङ्क संकलन गरिएको थियो । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ लगायत स्थानमा पर्ने करिब ३ सय बिन्दूहरुबाट सर्वेक्षकले सर्वे सम्पन्न गरी तथ्याङ्क संकलन गरेका थिए । सगरमाथा क्षेत्रका विभिन्न स्थानबाट लेभलिङ सर्भे गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial