राज्यको ध्यान तान्न विप्लव समूह यतिबेला जे पनि गर्न सक्छः प्रहरी


काठमाडौँ
- प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाको निसानामा दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीहरु पर्न सक्ने भन्दै त्यस अनुसारको रणनीति वनाउन निर्देशन दिएको छ ।

मोरङको मिक्लाजुङमा विप्लव समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि प्रहरी प्रधान कार्यालय सशंकित वनेको हो । केही दिनअघि भएको समीक्षामा प्रहरी महानिरिक्षक शैलेश थापाले प्रहरीलाई समेत लक्षित गरेर आक्रमण हुन सक्ने भन्दै त्यसअनुसार रणनीति बनाउन निर्देशन दिएका छन्।

राज्यको ध्यान आफूतिर तान्न विप्लव समूह यतिबेला जे पनि गर्न सक्छ भन्ने उदाहरण मिक्लाजुङ घटनावाट देखिएको एक प्रहरी अधिकारी वताउँछन्। मंसिरको पहिलो साता संखुवासभाको चैनपुरमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो। गस्तीमा हिँडेको डीएसपी नेतृत्वको टोली चढेको गाडीलाई लक्षित गरि ‘एम्बुस’ थापे पनि असफल भएको थियो।

विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्न प्रहरी युनिट र त्यहाँ काम गर्ने अधिकारीहरुको सुरक्षामा सचेत हुनुपर्ने प्रहरी प्रधान कार्यालयको जोड छ।

विप्लव समूहका हिंसात्मक गतिविधि बढेपछि सरकारले २०७५ फागुनमा नेकपाका गतिविधिमा प्रतिवन्ध लगाएको छ । त्यसयता उक्त समूहले राजधानीलगायत देशका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा बिस्फोटका घटनाहरु गराउँदै आएको छ। विप्लव समूहले आफ्ना नेता कार्यकर्ताको पिछा गर्ने, सुराकी गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial