युभेन्टसको २-१ को रोमान्चक जित


प्रकाशित: मङ्सिर २१, आइतबार, एजेन्सी । 
इटालियन च्याम्पियन युभेन्टसले टुरिन डर्बीमा सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि रोमान्चक जित दर्ता गरेको छ । शनिबार खेलको पहिलो हाफमा पछि परेको युभेन्टसले खेलको अन्त्यतिर ११ मिनेटको अन्तरमा २ गोल गर्दै २-१ को जित हसिल गर्यो ।

खेलको नवौं मिनेटमा नै पाहुना टोली टोरिनोले खेलमा अग्रता लिएको थियो । टोरिनोको कर्नरलाई पेनाल्टी क्षेत्रभित्र क्लियर गर्न नसक्दा निकोलस एन्कुलुले गरेको प्रहार गोलमा परिणत भएको थियो । युभेन्टसले खेलको अधिकांश समय बलमा पकड जमाएर आक्रमण बुनेपनि टोरिनोले खेलमा फर्कन दिएन ।

दोस्रो हाफको ५७ औं मिनेटमा जुआन क्वाडराडोले युभेन्टसलाई बराबरीमा ल्याएपनि भीएआरले उक्त गोलका क्रममा अफसाइड भएको भन्दै मान्यता दिएन । युभेन्टसले एकपछि अर्को आक्रमण बुनिरहँदा टोरिनोले भने रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गरेको थियो । तर उक्त प्रयास लामो समयसम्म टिकेन ।

खेलको ७८ औं मिनेटमा छोटो कर्नर लिएपछि क्वाडराडोले दिएको क्रसलाई मिडफिल्डर वेस्टन मकेनीले हेडरमार्फत गोल गरे । अमेरिकी मिडफिल्डरले क्लबका लागि पहिलो गोल गर्दै खेलमा फर्काए । ८९ औं मिनेटमा क्वाडराडोकै क्रसमा कप्तान लिओनार्डो बोनुचीले युभेन्टसलाई अग्रता दिलाए । पहिलो गोलकै जस्तो मुभमा टोरिनोको डिफेन्स पुन: एकपटक सफल हुन सकेन ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आन्द्रीए पिर्लोको प्रशिक्षणमा रहेको टोलीले १० खेलमा २० अंक जोडेको छ । टोरिनो भने ६ अंकसाथ १८ औं स्थानमा नै छ । शीर्षस्थानको एसी मिलानले ९ खेलमा २३ अंक जोडेको छ ।

खेलको सुरुवातमा युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेलीले रोनाल्डोलाई ७ सय ५० गोल पूरा गरेकोमा बधाईस्वरुप विशेष जर्सी उपहार दिएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial