झापामा अहिलेसम्मै ठूलो शौर्य विद्युत परियोजना, १० मेगावाट विद्युत उत्पादन गरिने


झापा
। झापामा नेपालकै अहिलेसम्मको ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा चलिरहेको छ । दश मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादन गर्ने योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु २० लाखका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान सङ्घीय सांसद लालबहादुर सावाले बताए ।

७९ करोड रुपैयाँ आयोजनाको कूल लागत रहेकोमा ६० करोड रुपैयाँ बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने सावाले बताए । कम्पनीले एक लाख रुपैयाँदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान पनि गरेको छ ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए ।

उनका अनुसार अर्को वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए । यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले बिक्री गर्ने कम्पनीको योजना छ ।

यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पिपीए) गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जनाएको छ ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला ठूला परियोजनाहरु सफलतापूर्वक सञ्चालन भएको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक रामचन्द्र उप्रेतीको भनाई छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial