काइकेमा प्रत्येक घरधुरीलाई ग्यास, डोल्पोबुद्धमा पिठो ढुवानीमा आधा रकम अनुदान


जाजरकोट ।
दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्याँस वितरण गर्न लागिएको छ ।

दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिए । सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ ।

सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले बताए ।

रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उहाँको भनाइ छ । वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।

अत्यधिक चिसो रहेको डोल्पामा दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए । उनले भने, “भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”

नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिए ।

प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी यहाँका महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधैं खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए ।

ग्यास पाउने भए पछि आफू निकै खुशी भएको कार्यपालिका सदस्य लक्ष्मी रोकायले जानकारी बताइन । सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाले यहाँका स्थानीयवासीलाई घरपिच्छे एक/एक क्विन्टल पिठो (मैदा) ढुवानीमा अनुदान उपलब्ध गराएको छ । गाउँपालिकामा करिब ४९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिदिए ।

एक क्विन्टल पिठोमा रु सात हजार अनुदान दिइएको छ । बाँकी रु सात हजार भने स्थानीयवासी आफैँले बेहोरेका छन् । नेपालगञ्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पुर्याउन रु १४ हजार लाग्छ । कोरोना महामारीका कारण स्थानीयवासीको आम्दानी गुमेपछि गाउँपालिकाले पिठो ढुवानीमा अनुदान दिएको उनले बताए ।

गाउँपालिकाले चालु आवमा पिठोमा अनुदान दिन रु ५० लाख छुट्याएको थियो । “ढुवानी खर्च धेरै महङ्गो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ”,  अधिकृत पङ्गेनीले भने ।

यहाँका स्थानीयवासीको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो । उनीहरूले यार्सागुम्बा बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सामान किन्ने गर्छन्  । तर यस वर्ष कोरोना महामारीका कारण न त यार्सागुम्बा टिप्न पाए, न व्यापार मेला नै हुनसक्यो । जसले गर्दा आम्दानी गुम्नुका साथै खाद्यान्नलगायत सामग्री किन्नसमेत नपाएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताए । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा वर्षेनी स्थानीयवासीले खाद्यान्न सङ्कट भोग्दै आएको उनले गुनासो गरे । उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल रु १२ देखि २० हजारसम्ममा बिक्री हुने राससले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial