सल्यान कृषिजन्य उत्पादनमा आत्मनिर्भर, ४ महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात


सल्यान
। सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा रु २२ करोड रुपैयाँ भन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म सल्यानबाट रु २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो ।

यस आर्थिक वर्षमा रु ९ करोड ८३ लाख ३६ हजार बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । चार महिनाको अवधिमा तीन हजार ५०० मेट्रिक टन तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

यसैगरी रु ४ करोड १२ लाख रुपैयाँ बराबरको अदुवा र रु ७ करोड ६७ लाख ७० हजारको बर्खे आलु निर्यात भएको बस्नेतले जानकारी दिए । “गत चार महिनाको अवधिमा दुई हजार ५५९ मेट्रिक टन आलु र ८२५ मेट्रिक टन अदुवा निर्यात भएको छ”, बस्नेतले भने ।

त्यस्तै ९२ मेट्रिक टन कागती, निबुवा, अम्बा, नास्पातीलगायतका फलफूलबाट रु ४८ लाख ७१ हजार रुपैयाँ जिल्लामा भित्रिएको बस्नेतको भनाइ छ । उनका अनुसार ४६० मेट्रिक टन तरकारी जिल्लाभित्र खपत भएको छ । “जिल्लामा पाँच मेट्रिक टन अदुवा, ७३१ मेट्रिक टन आलु जिल्लामै खपत भएको छ, यसले सल्यान जिल्ला कृषिजन्य उत्पादनमा आत्मनिर्भर छ भन्ने देखाउँछ”, बस्नेतले भने ।

सल्यान जिल्लामा बेमौसमी तरकारीका लागि प्रख्यात भएको तथा कृषिले राम्रो मूल्य पाएको कार्यालयको भनाइ छ । यो वर्ष लकडाउनका कारण भारतबाट समेत तकारी आउन समस्या भएकाले किसानले राम्रो मूल्य पाउन सफल भएको कृषि विकास कार्यालयले जनाएको छ । “कृषकले लकडाउनको समयमा तरकारी बिक्री हुँदैन भनेर धेरै जमिनमा अन्नबाली लगाए तर भारतबाट तरकारी नआएपछि किसानले राम्रो मूल्य पाए”, सूचना अधिकारी बस्नेतले भने ।


सल्यान तरकारी खेतीका लागि उपयुक्त जलवायु भएका कारण किसानले यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारमा गएर आएका युवाहरुसमेत व्यावसायिकरूपमा कृषि पेशामा आकर्षित हुन थालेका छन् ।

सल्यानका शारदा नगरपालिका, शिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले व्यावसायिक कृषि शुरु गरेको कृषि विकास कार्यालय सल्यानलाई उद्धृत गर्दै राससले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial