लमजुङमा घर–घरमा आजैदेखि स्वास्थ्य बीमा दर्ता सहयोगीहरु पुग्दै


लमजुङ ।
लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ६३ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।

स्वास्थ्य बीमा बोर्ड काठमाडौंले बेँसीशहर नगरपालिका वडा नं ७ मा आयोजना गरेको स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनले तत्कालीन संविधानसभा सदस्य जमीन्द्रमान घलेलाई स्वास्थ्य बीमा सदस्यता प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।

मुख्यमन्त्री गुरुङले प्रदेशमा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने काम गर्दै आइरहेको बताए । स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहँुच पुर्याउनका लागि प्रदेश सरकारले करौडौँ लगानी गरिरहेको उनको भनाइ छ ।

गण्डकी प्रदेशभरि पाँच लाख ७८ हजार घरधुरी रहेका र यी सबै घरमा पाँच वर्षभित्र स्वास्थ्य बीमा पुर्याउने लक्ष्य राखिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बीमाको प्रचारप्रसार गर्दै जनतासामु पुर्याउन सबै लाग्नुपर्ने बताइन । शुरुआतमा बीमा गर्ने र पछि नवीकरण नगर्ने परिपाटीसमेत धेरै रहेकाले सबैलाई स्वास्थ्य बीमाको बारेमा बुझाउँदै नवीकरण गराएर स्वास्थ्यको पहुँचमा सबै नागरिकलाई ल्याउनुपर्ने उनको भनाइ छ ।

बोर्ड सदस्य चन्द्र थापाले तीन वर्षभित्र नेपालका सबै नागरिकलाई स्वास्थ्य बीमा गराउने लक्ष्यका साथ बोर्ड अघि बढिरहेको बताए । बोर्डका गण्डकी प्रदेश संयोजक जीबलाल खरेलले पाँच जना सदस्यसम्म भएका परिवारले रु तीन हजार ५०० तिरेर बीमा गर्न सक्ने र सो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ७०० थप हुने बताए । त्यस्तै पाँचभन्दा कम भएका परिवारले रु एक लाख बराबर र सो भन्दा बढी १० जनाका परिवारले रु दुई लाखसम्मको निःशुल्क उपचार प्राप्त हुने खरेलले जानकारी दिए ।

बीमा कार्यक्रमका लागि जिल्लाको आठवटै स्थानीय तहको प्रत्येक वडाबाट एक–एक जना छनोट गरी ७५ जना दर्ता सहयोगी व्यक्तिलाई तालिम दिएर आजैदेखि सबै घरघरमा खटाउन लागिएको छ ।

जिल्ला अस्पताल, सुन्दरबजार अस्पताल, गौडा प्राथमिक स्वास्थ्य केन्द्र र चन्द्रेश्वार प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवा उपलब्ध हुने भएको छ । त्यस्तै यस प्रदेशको ११ जिल्लामध्ये पूर्वी नवलपारासी, मनाङ र मुस्ताङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन बाँकी रहेको छ । गण्डकी प्रदेशमा विसं २०७३ असार १५ गते बाग्लुङ जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको थियो ।

हालसम्म चार लाख ६० हजार जनाको बीमा भइसकेको छ । यीमध्ये ६१ ज्येष्ठ नागरिक, बागलुङ, गोरख र तनुहँमा पहिचान भएका ६ हजार ८९२ गरिब घरपरिवार र अतिअशक्त रातो कार्ड प्राप्त गरेका अपाङ्गता भएका ६७९ घरपरिवारको निःशुल्क बीमा गरिएको प्रदेश बोर्डका संयोजक खरेल जानकारी दिए । बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले सबै जिल्लामा आगामी चैतसम्म बीमा कार्यक्रम कार्यन्वयन हुने जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial