‘नो केन’ले सुनसान चिनी उद्योग


गोपालप्रसाद बराल

महोत्तरी । माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो ।

चिनी उद्योगमा चाहिँदो मात्राको उखु नपुग्नुलाई ‘नो केन’ भन्ने गरिन्छ । गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अहिले यही अवस्था गुजारी रहेको छ । केही वर्ष पहिले मौसम (उखु पेलेर चिनी बनाउने बेला) मा ५८ लाख क्वीन्टलसम्म उखु पेलेर कीर्तिमान बनाएको उद्योग अहिले उखुकै अभावमा एक÷दुई दिन बिराएर बन्द गर्नुपर्ने बनेको छ । क्रसिङ मौसमा विगतमा दैनिक २० घन्टासम्म चल्ने गरेको यो उद्योग अहिले ‘नो केन’ कै मारले मुस्किलले १०÷११ घन्टामात्र चल्ने गरेको उद्योग प्रशासनले नै स्वीकार गरेको छ ।

उद्योगले यसपाली पुसको पहिलो सातामा क्रसिङ सञ्चालन सुरु गरेको हो । यसअघि कटान चलान नपाएको भन्दै गुनासो गर्ने किसान, उखु तौलमा हुने भिडभाड र उद्योग परिसरमा सयौँको सङ्ख्यामा तौलको पालो पर्खेर रहेका उखु गाडी स्वात्तै घटेपछि उद्योग परिसर सुनसान बनेको उद्योग नजिकका बासिन्दा बताउँछन् ।

तराईमा नगदेबाली भनिने उखुको मूल्य कहिल्यै समयमा नपाएपछि किसानले चार÷पाँच वर्षयता खेती घटाउँदै लगेका छन् । उखुको मूल्य निर्धारणमा वर्षेनी लामो समयसम्म किचोला हुनु, खेती गर्न सुलभ ऋण र प्राविधिक सहयोग नपाउनु र उखुको भुक्तानीका लागि बर्सेनी आन्दोलन नै गर्नुपर्ने अवस्था बन्नुले किसान उखु खेतीको विकल्पतर्फ लागेका गौशाला–१ का किसान धनलाल साशङ्कर बताउँछन् ।

“मरीमरी खेती गरेर उव्जाएको फसलको न आफूले मूल्य भन्न पाइन्छ, न चाहेका बेला पैसा नै”, उनले भने, “उल्टै प्रत्येक सालजस्तो आन्दोलनमा पो उत्रनुपर्छ, अनि उखु गर्न कसरी जाँगर चलोस् ?” पाँच वर्षअघिसम्म आफ्नो सगोल परिवार हुँदा पाँच÷छ बिघासम्म गरिएको उखुखेती अब गर्न छाडिएको साशङ्करको भनाइ छ ।

यसपाली त उखु भएका किसानले आफैँ पेलेर मिठ्ठा (सख्खर) बनाउने र कतिपयले सख्खर बनाउने क्रसर उद्योगलाई उखु दिएपछि चिनी उद्योग परिसर सुनसान बनेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।

उखुको लिन लामो समय भुल्नुपर्ने, सरकारले दिने प्रक्रिया झञ्झटिलो हुनु, उखुखेतीमा बर्सेनी लागत बढ्दै जानु, सिञ्चाइको व्यवस्था नहुनु, समयमा मलखाद तथा बीउ नपाउनु र लागत अनुपातमा मूल्य नबढेपछि उखुखेती जिल्लामा झण्डै ५० प्रतिशत घटेको उनको भनाइ छ । विगतमा एक समय १८ हजार बिघासम्म पुगेको उखुखेती यसपाली घटेर छ हजार ५ सय बिघामा झरेको उनले बताए ।

खासमा उखु किसानका मर्काबारे राज्यपक्ष उदासिन भएपछि अर्को वैकल्पिक खेतीमा लाग्नै पर्ने बाध्यताले यो खेती स्वात्तै घटेको उनले जानकारी दिए । उद्योगमा उखुको अभाव भएपछि भने उद्योगले अहिले नगदै उखु किन्ने नीति बढाएको छ । उद्योग सञ्चालन गर्न उखु लगातार अपुग भएपछि उद्योगका कर्मचारी झोलामै रकम बोकेर खेतखेत चाहार्न लागेका छन् । किसानलाई उखुको भुक्तानी प्रकृया अत्यन्त सरल बनाएर तौल भएको १० दिनभित्रै किसानको खातामा रकम जम्मा गर्ने व्यवस्था भएको उद्योग प्रशासनले जनाएको छ ।

यस क्रममा यसपालीकै जारी मौसममा अहिलेसम्म ३० करोड रुपैयाँ किसानको खातामा पठाइएको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासको भनाइ छ । यसपाली गत पुस पहिलो साता सञ्चालन भएको उद्योगले अहिलेसम्म ९१५ माघसम्म० १० लाख १० हजार क्वीन्टल उखु क्रसिङ गरेको महाप्रबन्धक दासले जानकारी दिए ।

उद्योगले यसपाली उखु खरिद र भुक्तानी केही सहज बनाएको किसानले पनि स्वीकार गरेका छन् । तर उद्योगले यो नीति बनाउन ढिलाइ गरेको र अब सधैँ यसैअनुसार हुने विश्वास आपूmहरुलाई दिन नसकेपछि किसान उखुखेतीबाट हच्कनु परेको बताउँछन् ।

किसानमा उखुखेतीको आकर्षण घट्दै गएपछि ‘नो केन’कै कारणले विगत चार÷पाँच वर्षयता क्रमशः बन्द हुँदै गएका छन् । खासमा किसानको रकम भुक्तानी नगर्दा उखु पाउन छाडेपछि मुलुकका चार वटा चिनी उद्योग बन्द भएका नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष सर्लाहीका किसान कपिलमुनी मैनाली बताउँछन् । “मुलुकका १४ चिनी उद्योगमध्ये चार वटा त गत वर्षदेखि नै बन्द छन्”, उनी भन्छन्, “अहिले सञ्चालनमा रहेका १० उद्योगलाई पनि उखु अभाव भएको छ ।”

उखुको अभाव भएपछि सञ्चालनमा रहेका सबैजसो उद्योगले अहिले खेतखेतमै पुगेर उखु लिने गरेका छन् । उखु अभावले दैनिकरूपमा एक लाख क्वीन्टल उखु क्रसिङ क्षमताका उद्योगले अहिले मुश्कीलले १० हजार क्वीन्टल उखु क्रसिङ गर्ने गरेका पाइएको उनको भनाइ छ ।

अहिले ‘नो केन’ ले धराशायी बन्दै गएका उद्योगलाई फस्टाउन र उपयुक्त सुविधा नपाएर जिङ्राएका किसानलाई उखुखेतीमा उत्साहित गर्न सकिने नेपाल उखु उत्पादक संघको ठहर छ । किसानलाई खेतीदेखि मूल्य निर्धारण र भुक्तानीसम्मका प्रक्रियामा सुविधा बढाएर आस्वस्थ बनाउन सके अझै उखुखेती फस्टाउनसक्ने उनी बताउँछन् । यसैगरी किसान उत्साहित भएर उत्पादन बढाएसँगै उद्योगको प्रगति अघि बढ्ने उनको विश्वास छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial