भारतमा बर्ड फ्लू नियन्त्रण बाहिरः नेपालमा बढ्यो जोखिम


काठमाडौं
। कोभिड १९ को महामारीसँग जुध्दै गरेको भारतलाई अहिले बर्ड फ्लूले थिलथिलो बनाइदिएको छ । कोरोना महामारीविरुद्ध आउँदा महिनाहरूमा लाखौँको सङ्ख्यामा खोप लगाउने अभियानको तयारी शुरु गरिरहँदा भारतमा बर्ड फ्लूको नयाँ सङ्कट आइपरेको हो ।

राजस्थानबाट शुरु भएको बर्डफ्लू अहिले भारतको ९ वटा राज्यमा फैलिसकेको छ । उत्तरप्रदेश, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, हरियाणा, केरला, गुजरात, महाराष्ट्र हुँदै राजधानी दिल्लीमा समेत बर्ड फ्लू पुष्टि भइसकेको छ ।

पहिलोपटक राजस्थानमा सन् २०२० को डिसेम्बर २५ मा बर्ड फ्लू देखिएको थियो । एकाएक कुखुरा तथा हाँसको मृत्यु हुन थालेपश्चात् परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो ।

पछिल्लो केही हप्ताभित्रै हरियाणामा ४ लाख पन्छीहरुको मृत्यु भइसकेको छ । त्यस्तै केरलामा १२ हजार हाँसको मृत्यु भएपछि संक्रमण फैलिनबाट रोक्न राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पन्छी मारिएको छ ।

भारत सरकारले उच्च सतर्कता जारी गर्दै बर्ड फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ । मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ । केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।

छिमेकी मुलुक भारतमा बर्ड फ्लूको संक्रमण भुसको आगोसरि सल्किएपछि नेपालमा पनि यसको जोखिम बढेको छ ।

विशेष गरी भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा कुखुरा, हाँस लगायत पन्छीहरुको ओसारपसार कायम हुने सम्भावना रहेको छ । यस्तो वेला व्यापारीहरुले खुल्ला सिमानाको फाइदा उठाउने सम्भावना बढी हुन्छ ।

भारतमा फ्लू देखिएपछि उताको कुखुराको मूल्य सस्तो हुने हुँदा सीमा क्षेत्रका व्यापारीहरूले उताबाट कम मूल्यमा कुखुरा ल्याएर यताको बजारमा महंगो मूल्यमा बेच्न सक्छन् । यसले एकातिर नेपालमा बर्ड फ्लूको संक्रमण फैलिने जोखिम बढ्छ भने अर्कातिर कालो बजारी ।

त्यसैले, भारतसँग जोडिएको प्रदेश २ का आठवटै जिल्लामा सुरक्षा सतर्कता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । मन्त्रालयले स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि थप जनशक्ति तथा मेशिनरी सामाग्र आवश्यक परेमा जानकारी गराउन निर्देशन दिइसकेको डा.घिमिरेले बताए ।

नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्न भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले बताएका छन् ।

प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक लगाउन भनी निर्देशनसमेत दिइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial