प्रतिव्यक्ति दुई रुपैयाँबाट सुरु गरिएको बचत वार्षिक छ करोड बढी


खोटाङ
। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोबार करिब रु छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक रु दुई जम्मा गर्ने गरी सुरु गरिएको अहिले वार्षिक बचत रु पाँच करोड ७४ लाख ५४ हजार ४ सय ६९ पुगेको हो ।

नियमित बचत गर्ने र आयमूलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले स्थानीयवासीको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत सहकारी संस्था स्थापना गरिएको थियो । सहकारीको आफ्नै भवन जालपामा शनिबार सम्पन्न २४औं साधारणसभामा सहकारीको निक्षेप रु तीन करोड ८८ लाख ७० हजार ७ सय ७२ पुगेको जानकारी दिइएको छ ।

सेयर पूँजी रु ४४ लाख १० हजार ५ सय ५०, रु तीन करोड २३ लाख ६६ हजार १ सय ५७ कर्जा लगानी गरेको र रु चार करोड ५० लाख ४० हजार १ सय ५८ ऋण असुली गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा सेयर पूँजी एक करोड पुर्याउने लक्ष्यका साथ यस वर्ष रु सात लाख ६१ हजार ८५ लाभांशलाई सेयर पूँजीमा रूपान्तरण गरिएको सहकारीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

बिना धितो रु एक लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीको साधारणसभामा सेयर पूँजी वृद्धिका लागि सेयर पूँजी अभिवृद्धि कार्यायोजना पास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “गत वर्षसम्म प्रतिसेयरको मूल्य रु १ सय १४ थियो । अहिले प्रतिसेयर मूल्य रु १ सय २१ पुर्याइएको छ”, अध्यक्ष श्रेष्ठले भने, “यसअघिसम्म प्रतिव्यक्ति १ सय कित्ता सेयर किन्नुपर्ने व्यवस्था रहेकोमा यस वर्षबाट बढाएर प्रतिव्यक्ति १ सय ५० कित्ता सेयर किन्नुपर्ने व्यवस्था निर्धारण गरेका छौँ ।”

साधारणसभामा सहकारीका अध्यक्ष श्रेष्ठले सहकारीको वार्षिक प्रगति प्रतिवेदन, सेयर अभिवृद्धि कार्ययोजना र ऋण तथा बचत नीतिलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । वडाअध्यक्ष विकास राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले चालु आवको अनुमानित बजेट तथा कार्यक्रम र लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।

यस्तै ‘बुढेसकालको सहारा मेरो मुद्धति खाता’ र ‘मेरो नानीबाबुलाई मुद्धति खाता’ सञ्चालन गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ । व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचारलगायतका शीर्षकमा १५ प्रतिशत ब्याजका दरले ऋण प्रवाह गर्दै आएको छ ।

सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनिट्रान्सफरलगायतका सेवा प्रवाह गर्दै आएको छ । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले चालु आवदेखि माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने तयारी गरेको छ । हाल जालपा, खार्मी र हौंचुरका १ सय १ बचत समूहका एक हजार ३ सय ७२ सेयर सदस्य रहेको सहकारीले दैनिक रु पाँच लाख रेमिट्यान्स कारोबार गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाका नागरिकलाई बचत गर्ने बानीको विकास गर्दै आयआर्जनमा वृद्धि गराउन ‘एक वडा, एक सहकारी’को नीतिसमेत पारित गरेको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial