आयल निगमले खोज्न थाल्यो हाइड्रोजन इन्धनको सम्भाब्यता



काठमाडौं
। नेपाल आयल निगमले हाइड्रोजन इन्धनको खोजी गर्न शुरु गरेको छ । वातावरण प्रदुषण बढ्न नदिन र हाल प्रयोगमा रहेको इन्धनका भविष्य राम्रो नदेखिएपछि निगमले हाइड्रोजन इन्धनको खोजी शुरु गरेको हो ।

यस विषयमा थप अध्ययन अनुसन्धानका लागि गत पुस २४ मा काठमाडौं विश्वविद्यालय (केयू) सँग एमओयूसमेत गरिएको निगमले जनाएको छ ।

नेपालमा सम्भावना देखिए प्रविधि ल्याएर पाइलटिङ गरिने निगमले जनाएको छ । हाल केयूमा ग्रिन हाइड्रोजन ल्याब सञ्चालनमा छ । थप अध्ययनका लागि ल्याबमा सहयोग गर्ने गरी एमओयू गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।


यद्यपि हाइड्रोजन इन्धन उत्पादनका लागि कति खर्च लाग्छ भन्ने अध्ययन भइसकेको छैन । कानुन पनि बनिसकेको छैन । केयूसँगको सम्झौतापछि कानुन बनाउने, हाइड्रोजन इन्धनको नीति, लागतलगायतको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ ।


निगमका अनुसार हाइड्रोजन इन्धनका लागि विद्युत् पनि आवश्यक पर्छ । त्यसका लागि विद्युत् प्राधिकरणसँग सम्झौता गरिनेछ । ‘जापानले तीन वर्षभित्र हाइड्रोजन गाडी उत्पादन गर्दै छ ।

हाइड्रोजन इन्धनको अध्ययन र उत्पादन सुरु गरिएन भने फेरि आयातमै निर्भर हुनुपर्ने बाध्यता आउँछ,’ पौडेलले भने, ‘नेपालमा गाडीको प्रयोग गर्न समय लाग्न सक्छ । तर यहाँ हाइड्रोजन इन्धन उत्पादन गरेर निर्यात गर्न भने सकिन्छ । यसका लागि वातावरण बने ठूलो लगानी भित्रिन्छ, यसको भविष्य पनि राम्रो छ ।’

इन्धन आयातकै लागि वार्षिक करिब २ खर्ब रुपैयाँ बाहिरिने गरेको निगमको तथ्यांक छ । इन्धनको खपत बर्सेनि बढ्दै छ । निगमले आईओसीबाट पेट्रोलियम पदार्थ आयात गर्छ । आईओसीले नै हाइड्रोजन इन्धन खपत हुने गाडी अर्डर गरेपछि निमलाई थप दवाब बढेको हो ।


निगमसँग पाँच वर्षको एमओयू भएको केयू मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले जानकारी दिए । केयूको सहकार्यमा निगमले हाइड्रोजन इन्धन उत्पादन गरेर निर्यार्त गर्नेसम्मको योजना बनाएको छ । यसअन्तर्गत लगानी र प्रविधिको अनुसन्धान हुनेछ । दुई वर्षमा हाइड्रोजन इन्धन उत्पादन गरेर परीक्षण पनि गरिने थापाको दाबी छ ।


निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि हाइड्रोजन इन्धनका विषयमा धेरै मुलुकले अध्ययन गरिरहेकाले निगमले पनि सुरुवात गरेको प्रतिक्रिया दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial