सेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव



काठमाडौं ।
साताको दोस्रो दिन सेयर बजार ९२ अंकमाथि उकालो लाग्दा सेयर किनबेच पनि १० अर्ब रुपैयाँभन्दा धेरैको भएको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाका कारण उत्साहित भएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार ३.७१ प्रतिशत अर्थात ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जालाई यथावत राखेसँगै बजारमा उत्साह छाएको लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नुपूर्व सेयर धितो ऋणमा कडाइका साथै लघुवित्तको सेयर खरिदमा नियन्त्रणमुखी नीति लिने भनी हल्ला चलाइएको थियो । तर, आइतबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आफ्नो नीति प्रष्ट पारेसँगै सेयर बजारमा हरियाली देखिएको छ । सोमबार लघुवित्तको सेयरमा नै लगानीकर्ता झुम्मिएका छन् । लघुवित्त समूहको परिसूचक सबैभन्दा धेरै ८.७४ प्रतिशतले बढेको छ । सबै समूहको पसिूचकमा हरियाली देखिएको दिन बीमा, निर्जिवन बिमा, वाणिज्य बैंक र अन्य समूहको परिसूचक तीन प्रतिशतभन्दा धेरै बढेको छ । उत्पादमूलक र व्यापार समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ । विकास बैंक, होटल र म्युचुअल फण्ड समूहको परिसूचक समेत करिब २ प्रतिशतले बढेको छ ।

सेयर बजारमा ९२ अंक माथिको उछाल आएको दिन कारोबार रकममा समेत बढोत्तरी भएको छ । दिनभर २०५ कम्पनीको २ करोड २४ लाख कित्ता सेयर १० खर्ब ३८ करोड ४१ लाख रुपैयाँ कराबरमा किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ७० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गर्नेको दोस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन ६८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको कारोबारमा ११ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको छ । ति सबै लघुवित्त हुन् ।

यसैबीच, नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गरे वापत विद्युतीय भुक्तानीको सीमा हटाउने तयारी गरेको छ । जसका कारण पनि सेयर बजारमा उत्साह थपिएको छ । हाल सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा १० लाख रुपैयाँ राष्ट्र बैंकले निर्धारण गरेको छ । तर, राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको जनाउँदै बोर्डले सेयर कारोबारमा सीमा नलाग्ने व्यवस्था गर्ने अनुरोध गरेको छ । बोर्डले राष्ट्र बैंकमा पत्र लेखेर नै अनुरोध गरेको छ ।

पत्रमा ‘अनुमति प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत् धितोपत्र कारोबार गरेवापत धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई बिक्री गरेवापत रकम भुक्तानी गर्दा टीएमएस अनलाइन बैंकिङ उपयोग गरी भुक्तानी गर्दा १० लाख रुपैयाँको सीमाले विद्युतीय कारोबारमा समस्या आएको गुनासो प्राप्त भएको हुँदा धितोपत्र सम्बन्धी कारोबारको विद्युतीय भुक्तानीको सीमा ननाघ्ने व्यवस्था लागि निर्देशानुसार अनुरोध गरिएको’ उल्लेख छ । कारोबार दैनिकबाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial