दोस्रो त्रैमासमा बढ्यो १४ वाणिज्य बैंकको निष्क्रिय कर्जा


काठमाडौं ।
चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपिएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा बैंकको गत आवको पुसको तुलनामा चालु आवको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा (नन परफर्मिङ लोन) बढेको हो । बाँकी १२ ओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ भने सेन्चुरी कमर्शियल बैंकको एनपिएल गतवर्षको जति नै छ । चालु आवको पहिलो त्रैमासमा भने १८ बैंकको एनपीएल बढेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा (एनपिएल) सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । यो बैंकको एनपिएल उच्च देखिए पनि दोस्रो त्रैमासमा झिनो सुधार भएको छ । सो बैंकको गत आवको दोस्रो त्रैमासमा ४ दशमलव ७७ प्रतिशतमा रहेको एनपिएलमा शून्य दशमलव ५४ प्रतिशत विन्दुले सुधार भए पनि गत पुसमा ४ दशमलव २३ प्रतिशत पुगेको छ ।

एनपिएल थोरै नियन्त्रण आए पनि कोभिडका कारण ब्याज तथा किस्ता भुक्तानीमा प्रभाव परेको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । बैंककाअनुसार यसअघिको त्रैमासिक प्रतिवेदनमा कोभिडबाट अतिप्रभावित क्षेत्रहरूबाट ब्याज तथा किस्ता भुक्तानी भएको थिएन । कोभिड प्रभावितलाई भुक्तानीका लागि दबाब दिन पनि नमिल्ने बैंकको भनाइ छ ।

दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकमध्ये धेरै एनपिएल भएको दोस्रो र तेस्रो पनि सरकारी स्वामित्वकै क्रमशः कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । कृषि विकास बैंकको चालु आवको दोस्रो त्रैमासमा ३ दशमलव १४ प्रतिशत एनपिएल रहेको छ । तर, यो गतवर्षको भन्दा शून्य दशमलव ७७ प्रतिशत विन्दुले नियन्त्रणमा आएको छ । गत आवको उक्त अवधिमा एनपिएल ३ दशमलव ९१ प्रतिशत थियो । नेपाल बैंकको एनपिएल गत वर्षको तुलनामा शून्य दशमलव २२ प्रतिशत विन्दुले बढेर २ दशमलव ८८ प्रतिशत पुगेको छ ।

चालु आवको दोस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनल र स्ट्यान्डर्ड चार्टर्ड बैंकको गत वर्षको तुलनामा एनपिएल ह्वात्तै बढेको छ । सिटिजन्स बैंकको चालु आवमा १ दशमलव ४३ प्रतिशत विन्दुले बढेर २ दशमलव ४२ प्रतिशत पुगेको छ । गतवर्ष एनपिएल शून्य दशमलव ९९ प्रतिशत थियो ।

स्ट्यान्डर्ड चार्टर्डको १ दशमलव ३७ प्रतिशत विन्दुले एनपिएल बढेर १ दशमलव ५४ प्रतिशत पुगेको छ । गतवर्ष यसको एनपिएल शून्य दशमलव १७ प्रतिशत मात्र थियो ।

यसैगरी दोस्रो त्रैमासमा एनपिएल बढेर एनएमबीको २ दशमलव ३८, नेपाल बंगलादेशको २ दशमलव ३७, हिमालयनको २ दशमलव १३, सिद्धार्थको १ दशमलव ९१, ग्लोबल आइएमईको १ दशमलव ७२, मेगाको १ दशमलव ७१, कुमारीको १ दशमलव ०६ प्रतिशत पुगेको छ ।

एनपिएल बढेका बैंकहरू माछापुच्छ्रे, सानिमा, नेपाल एसबिआई र एभरेष्ट बैंको गत आवका तुलनामा १ प्रतिशत विन्दुभन्दा कम एनपिएल बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गत दोस्रो त्रैमासको तुलनामा चालु आवको सो अवधिमा १२ बैंकको एनपिएल भने नियन्त्रणमा रहेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्श, प्रभु, सिभिल, बैंक अफ काठमाडौं, प्राइम, सनराइज, लक्ष्मी, नबिल, एनआइसी एसियालगायतको एनपीएल नियन्त्रणमा आएको देखिन्छ ।

कोभिडको असरले एनपिएल बढेको हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशी बताउँछन् । उनकाअनुसार कोरोनाबाट प्रभावित भएपछि अधिकांश ऋणीहरूले किस्ता र ब्याज तिरेनन् । अर्थतन्त्र चलायमान हुन थालेकाले आगामी दिनमा व्यवसायीले ब्याज तथा किस्ता तिर्दै जाने उनको अपेक्षा छ ।

चालु आवमा कोभिड प्रभावका कारण निष्क्रिय कर्जा नियन्त्रण आउन नसकेको बैंकरहरूको भनाइ छ । यसअघि कोभिड प्रभावितलाई नेपाल राष्ट्र बैंकले बाँकी ब्याज तथा किस्ता तिर्ने अवधि छूट दिएको थियो । कतिपय ऋणीहरूले कर्जा चुक्तामा ढिलाइ गर्दै आएको बैंकरहरू बताउँछन् । कोभिड प्रभावित भएकाहरूको खराब कर्जामा परिणत हुन नदिन केन्द्रीय बैंकले बैंकहरूलाई पुस मसान्तभित्र प्रोभिजनमा राख्नसमेत व्यवस्था गरेको थियो । तर, यसतर्फ भने बैंकरहरू खासै उत्साहित नभएको देखिन्छ । यो व्यवस्थाले कोभिडका कारण बैंकहरूको खराब कर्जा नियन्त्रणमा मद्दत गर्ने केन्द्रीय बैंकको अपेक्षा छ ।

केन्द्रीय बैंकले कोभिड प्रभावितबाट नउठेको ऋणलाई एनपिएल देखाउन नपर्ने सुविधा दिएको थियो । एनपिएलमा देखाउन नपरे पनि बैंकहरूको ब्याज आम्दानीमा प्रहार गर्ने बैंकरहरूले गुनासो गर्दै आएका थिए । यसले गर्दा लगानीकर्तालाई दिने वितरणयोग्य रकममा समेत संकुचन आउने बैंकरहरूले औंल्याउँदै आएका थिए ।

नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिड–१९ बाट असर परेका ऋणीको ६ महीनाभन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामीजस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्न भनेको थियो । आर्थिक अभियान दैनिकमा छापिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial