उत्पादित विद्युत् खेर जाने व्यवसायीको चिन्ता : प्राधिकरण भन्छ,‘आफ्नो उत्पादन आफैँ व्यवस्थापन गर्नुस्’


  • सञ्जय श्रेष्ठ

काठमाडौं । हाइड्रोपावर कम्पनी सञ्चालकहरुले आफूले उत्पादन गरेको उर्जा खेर गएकोमा चिन्ता व्यक्त गरेका छन् । नेपालका उत्पादन भएको एक सय मेघावाट विद्युत् प्रशारण लाइनमा जोड्न नसक्दा अहिले खेर गइरहेको अवस्था छ ।


व्यवसायीहरुले अहिलेको अवस्थामा सरकारले उर्जा व्यवस्थापनलाई तीव्र गतिमा अगाडि नबढाए नेपालमा ४–५ वर्षपछि उत्पादन भएको उर्जा त्यतिकै खेर जाने चिन्ता व्यक्त गरेका छन् ।

कोरोनाको कारण लामो समयको लकडाउन (बन्दाबन्दी)ले हरेक क्षेत्रमा जस्तै उर्जा क्षेत्रमा पनि असर पारेको छ । नेपालमा अहिले निजी लगानीमा विभिन्न हाइड्रोपावर कम्पनी निर्माणाधिन अवस्थामा छ । उक्त निर्माणाधिन अवस्थामा रहेको हाइड्रोपावरहरु सञ्चालनमा आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने वा प्रयोग गर्ने भन्ने कुरा सरकारले अहिलेदेखिनै तयारी गर्नु पर्ने अपर साप्सु हाइड्रो पावर प्रालिका सञ्चालक दिलराज चाम्लिङले बताए । उनकाअनुसार नेपालमा ५ वर्षपछि १ हजार ६ सय मेगावाट बिजुली उत्पादन हुन्छ । त्यसलाई सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेदेखिनै तयारी तीव्र पार्नु पर्ने चाम्लिङले बताए ।

कतिपय हाइड्रोपावरहरुले उत्पादन सुरु गरिसकेपनि प्रशारण लाइनमा जोड्न अनुमति नपाउँदा तथा विभिन्न भौतिक तथा प्राविधिक कारणले प्रशारणलाइनमा जोड्न नसक्दा विद्युत खेर गइरहेको छ । सरकारले हाइड्रोपावर कम्पनीहरुको समस्यालाई गम्भीररुपमा नलिँदा र समयमा नै यस्ता कुराको समाधान नगर्दा अहिले हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ताहरु चिन्तित बनेका हुन् ।

नेपाल सरकारले हाइड्रोपावरमा लगानी गर्न चाहाने निजी क्षेत्रलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएपछि हाइड्रोपावर लगानीमा मानिसहरुको आकर्षण बढ्न थालेको छ । अहिले धेरैको नजर हाइड्रोपावरमा लगानी गर्ने रहेको छ । सरकारले आम जनतालाई हाइड्रोपावरमा पहुँच पुर्याउने उदेश्यले ‘नेपालको पानी जनताको लगानी’ नामको नारासहितको जलविद्युत लगानीमा मानिसहरुलाई आक्रषण गरिरहेको छ । साथै उज्यालो नेपालको नारा दिएर देशमा लोडसेडिङमुक्त गर्ने अभियानपनि चलिरहेको छ ।

तर, पछिल्लो समयको राजनीतिक परिवर्तनसँगै हाइड्रोपावर लगानीका क्षेत्रमा सरकारले नीति एउटा र काम अर्को गर्न थालेको उपर देउमाई स्मल हाइड्रोपावरका अध्यक्ष रत्न नेवारले बताए । उनले नियमितरुपमा हाइड्रोपावर कम्पनीहरुले गर्नु पर्ने नविकरणसमेत गर्न नपाएर अलपत्र अवस्थामा रहेका बताए । अहिले सयभन्दा बढी हाइड्रोपावरहरुको हकमा मन्त्रालयले कुनै निर्णय नगर्दा पिपिए, इआई, जेनेरेसन लाइसेन्स लिनबाट बञ्चित भएको उनले बताए ।

कोरोनाका कारण भएको लकडाउन तथा निषेधाज्ञाको कारण सरकारले लिएको विद्युत् उत्पादनको लक्ष्यमा केही समय ढिला हुनेपनि उनले बताए । एकातिर कोरोनाको कारण धरासायी भन्नु पर्ने अवस्था र अर्को तिर मन्त्रालयले नविकरणको फाइलहरु महिनौँ दिन रोकेर राखेको कारण अहिले हाइड्रोपावर कम्पनीहरु घर न घाटको अवस्थामा रहेको उनी बताउँछन् ।

सरकारले विद्युत क्षेत्रमा नीति राम्रो बनाएपनि चुस्त व्यवस्थापनमा सरकारले ढिलासुस्ति गरिरहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)को अध्यक्ष कृष्णप्रसाद आर्चायले बताए । सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा अहिले एक सय मेघावाट विद्युत् खेर गइरहेको उनले बताए । निर्माण सम्पन्न भएको हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेर पनि प्रशारणलाइनमा उक्त विद्युत् जोड्न नसक्दा खेर गइरहेको छ । तर नेपालमा उत्पादन भएको विद्युत् खेर गइरहेको अवस्थामा नेपालले भारतबाट विद्युत् किनेर ल्याएर प्रयोग गरिरहेको छ ।

सरकारले लिएको लक्ष्य पुरा गर्न अहिले निजी क्षेत्र नै काफी रहेको आर्चायले बताए । उनले सरकारले प्रशारणलाइनमा विद्युत् जोड्ने व्यवस्था तथा अन्य कामलाई चुस्त व्यवस्थापन गरे निजी क्षेत्रबाट मात्रपनि सरकारले विद्युत् उत्पादनमा लिएको लक्ष्य पुरा हुने बताए । उनकाअनुसार अहिले ३ हजार मेघावाट निर्माण र उत्पादनको चरणमा रहेका छन् । भने ४ हजार मेघावाट अहिले पिपिएलगायत कानुनी मान्यता लिएर निर्माणको तयारीमा रहेमा रहेका छन् ।

तर, विद्युत प्राधिकरणले भने तत्कालनै प्रशारण लाइन निर्माण गर्न नसकिने बताएको छ । प्रशारणलाइनसँग जोडिन समस्या भएको कारण उर्जा व्यवसायीहरुलाई आफै प्रशारणलाइनसम्म विद्युत जोड्न प्राधिकरणले भनिरहेको प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र शाक्यले बताए । उनले नेपालको विद्युतको भर नभएको बताएका छन् ।

नेपालमा उत्पादन हुने विद्युत्‌को भर नहुने कारण अहिले माकेर्टिकङमासमेत समस्या भएको उनले बताए । नेपालको खोलाहरुमा पानीको अवस्था एकनासको नहुने हुँदा उत्पादनमा समस्या हुने गरेको उनले बताए । धेरै निजी लगानीकर्ताहरुले विद्युत् उत्पादन गरेको उल्लेख गर्दै उनले निजी लगानीकर्ताहरु आफैँले उत्पादित विद्युत्‌को व्यवस्थापन गर्नुपर्ने बताए । अहिलेको अवस्थामा तत्कालै विद्युत् व्यवस्थापनको काम गर्न नसकिने शाक्याले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial