बन्दहडतालबाट अर्थतन्त्र थप जोखिममा



काठमाडौं
। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत दाहाल–नेपालको पक्षले बिहीबार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट गरेको छ ।

कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला आमहडतालले नराम्रो असर गर्ने बताउँदै बन्द हडताललगायत कार्यक्रमबाट मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले समस्त राजनीतिक दलहरूमा आग्रह गरेको छ ।

कोभिड–१९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्दहडतालजस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दी उनीहरूले चिन्ता प्रकट गरेका छन् ।

तीनओटै संगठनले संयुक्त वक्तव्य जारी गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने भएकाले राजनीतिक दलहरूलाई गम्भीर बन्नसमेत उनीहरूले अनुरोध गरेका छन् ।

विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्दहडताल, चक्काजाम एवम् आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलनलगायत गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजीक्षेत्रको काम गर्न पाउनेलगायत नैसर्गिक अधिकार कुण्ठित नपार्न समेत निजीक्षेत्रको आग्रह छ ।

बन्दहडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्फ समेत उनीहरूले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । साथै, नयाँ संविधान निर्माणपश्चात् आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्दहडताल, चक्काजामलगायत गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धतालाई समेत तीनओटै संगठनले स्मरण गराएका छन् ।

प्रतिनिधिसभा भंगको विषयलाई लिएर विरोध गर्ने दलहरूको अधिकार भए पनि सर्वसाधारणलाई असर पार्ने गरी बन्दहडताल आह्वान गरेकामा सर्वसाधारणसमेत आक्रोशित भएका छन् । उनीहरूले सोसल मिडियामार्फत राजनीतिक दलहरूलाई बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । महासंघले ६ वर्षअघि गरेको एक अध्ययनअनुसार १ दिन बन्दहडताल हुँदा २ अर्बको क्षति हुन्छ । गार्हस्थ्य उत्पादनलाई आधार मान्दा औपचारिक अर्थतन्त्रमा दैनिक करीब १० अर्ब रुपैयँको उत्पादन तथा व्यापार हुने गरेको छ । ४० प्रतिशत अनौपचारिक अर्थ भएको आकलन गरिएको सन्दर्भमा १ दिनको बन्दले अर्बौंका क्षति पुग्ने देखिन्छ ।

कोरोनाका कारण ठूलो जनसंख्याले रोजगारी गुमाएको अवस्थामा बन्दहडताल हुँदा गरिखाने वर्ग झनै प्रभावित हुने अर्थशास्त्रीहरूको भनाइ छ । त्यसैले राजनीतिक मुद्दा टेबलबाट समाधान खोज्नुपर्ने उनीहरूको भनाइ छ । बन्दहडताल र विरोध प्रदर्शन भइरहँदा पूँजी पलायनको सम्भावनासमेत बढ्ने अर्थशास्त्रीहरूको चिन्ता छ । आमहडताल आह्वान गरेको समाचार आउनेबित्तिकै त्यसको असर बुधबार सेयरबजारमा समेत परेको विश्लेषकहरूको दाबी छ । आर्थिक अभियानबाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial