छ महिनामा एक अर्ब ३६ करोडकाे तरकारी तथा फलफूलमा कारोबार



कर्णाली ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब ३६ करोडको कारोबार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६ सय कारोबार भएको पाइएको हो । मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

“हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोबार हो”, निर्देशक रोकायले भने, “उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।” उनले भने, “सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोबार तेब्बरले भएको देखिन्छ ।”

उनकाअनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५ सय ५३ क्वीन्टलबाट रु २३ करोड १४ लाख २३ हजार ४ सय कारोबार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५ सय ८९ क्वीन्टलमा रु ८० करोड ५३ लाख ६९ हजार २ सय कारोबार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।

निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्येच्याउ दुई हजार ७ सय २५ क्वीन्टलबाट रु छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५ सय ६७ क्वीन्टलबाट रु छ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४ सय ८८ क्वीन्टलबाट रु पाँच करोड ९१ लाख ६१ हजार ६ सय आन्तरिक कारोबार भएको बताए ।

“कारोबार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्”, अर्थविज्ञ थापाले भने, “उत्पादित बालीवस्तुबाट भएको कारोवारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निर्क्यौल गरिनेछ ।” पहिलोपटक लिएका तथ्याङ्कको प्रमाणीकरण गरिने उनले बताए ।

त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४ सय ६१ क्वीन्टलबाट रु ५३ करोड २६ लाख ७५ हजार २ सय, हिउँदे आलु २७ हजार ६ सय ७५ क्वीन्टलबाट रु १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५ सय ४८ क्वीन्टलबाट रु पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८ सय ५६ क्वीन्टलबाट रु तीन करोड ८० लाख ६४ हजार बाह्य कारोबार भएको अर्थविज्ञ थापाले बताए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial