कृषि कानुनको विरोधमा भारतमा चक्काजाम



नयाँदिल्ली
— आन्दोलनरत किसानहरुले कृषि कानुनको विरोधमा शनिबार भारतभर चक्काजाम घोषणा गरेका छन् । भारत सरकारले पाँच महिनाअघि ल्याएको तीनवटा कृषि किसान फिर्ता लिनुपर्ने माग राख्दै किसानहरुले शनिबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजाम घोषणा गरेका हुन् ।

यसक्रममा भारतका सबै राजमार्ग र सडकमा समयमा सवारी साधन चल्न रोक लगाउने किसानहरुले बताएका छन् । यद्यपि दिल्ली, उत्तराखण्ड र उत्तरप्रदेशमा भने चक्काजाम नहुने बताइएको छ ।

भारत सरकारले गत सेप्टेम्बरमा ल्याएको तीनवटा कृषि कानुन विरोधमा विगत पाँच महिनादेखि विशेषगरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगालराज्यका किसानहरु आन्दोलरत छन् । आन्दोलनलाई भारतभरका चालीसभन्दा बढी किसान संगठनहरुको समर्थन रहेको छ । किसानहरुले विगत दुई महिनायता दिल्लीका नाकाहरु गाजीपुर, सिंघु, टिक्रीलगायतका धर्ना दिइरहेका छन् ।

विपक्षी दलहरुले समेत आन्दोलनको समर्थन गर्दै आएका छन् । सरकारले भने नयाँ कानुनले किसानहरुको आम्दानी बढाउने र समग्र कृषि क्षेत्रमा व्यापक सुधार हुने दाबी गरिरहेको छ । यसबीचमा आन्दोलरत किसान संगठनहरु र सरकारबीच एघार पटकसम्म वार्ता समेत भइसकेको छ । तर, कुनै निकास निस्किएको छैन ।

किसान पक्षले कानुन फिर्ता गर्नुपर्ने माग राखेको छ भने सरकारले भने त्यसमा संशोधन गर्ने तर फिर्ता नलिने अडान लिएको छ । किसानहरुले कृषि कानुन फिर्ता नभएसम्म नाकाको धर्ना जारी राख्ने अडानमा छन् । आन्दोलनकै क्रममा किसानहरुले २६ जनवरीमा ट्याक्टर ऱ्याली निकालेका थिए । उक्त ऱ्याली हिंसात्मक बन्न पुगेको थियो । त्यसपछि प्रशासनले किसानहरुको धर्नास्थल क्षेत्रमा इन्टरनेट बन्द गर्नुका साथै ब्यारिकेड थप बढाएको थियो ।

प्रशासनको उक्त निर्णयप्रति अन्तर्राष्ट्रिय रुपमा चासो व्यक्त गरिएको छ । पप स्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थन्वर्गलगायतका चर्चित सेलेब्रिटीहरुले समेत समर्थन जनाएपछि आन्दोलनप्रति एकाएक चासो बढेर गएको छ । यद्यपि भारत सरकारले विदेशी सेलेब्रिटीहरुले किसान आन्दोलनमा गरेको टिप्पणीलाई आफ्नो आन्तरिक मामिला भएको भन्दै त्यस्ता टिप्प्णी अस्वीकार्य भएको जनाएको थियो ।

तर, पछिल्लो समय आन्दोलनप्रति प्रति संयुक्त राष्ट्र संघ, अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायबाट समेत चासो व्यक्त हुन थालेको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यलयले शुक्रबार मात्र ट्वीट गर्दै किसान आन्दोलनप्रति संयम देखाउन र शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको सम्मान गर्दै न्यायसंगत समाधान खोज्न भारत सरकारलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय जगतले पनि आन्दोलनप्रति चासो देखाउन थालेपछि हौसिएका आन्दोलनकारीहरुले देशव्यापी चक्काजामको घोषणा गरेका हुन् । यसक्रममा कुनै अप्रिय घटना हुन नदिन राजधानी दिल्लीमा मात्र पचास हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । ईकान्तिपुर बाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial