आङ सान सुचीलाई घरमै नजरबन्दमा राखिएको जानकारी



नेपिदअ
— म्यानमारको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई उनकै घरमा नजरबन्दमा राखिएको पार्टीले जनाएको छ । एनएलडीका सञ्‍चार अधिकैत क्यी टोयले सेनाले सूचीलाई राजधानी नेपिदअस्थित घरमै नजरबन्दमा राखेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका छन् ।

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेको थियो । म्यानमारमा सोमबार बिहान सेनाले स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुची, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई गिरफ्तार गर्दै शासनसत नियन्त्रणमा लिएको थियो ।

तर सूचीलगायतका नेतालाई कहाँ राखिएको छ भन्ने केही जानकारी सार्वजनिक गरिएको थिएन । तर शुक्रबार एनएलडीका सञ्चार अधिकृत टोयले सूचीको अवस्थाबारे जानकारी दिँदै एएफपीसँग भनेका छन्, 'नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ । मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै निवासमा नजरबन्दमा राखिएको छ ।'

नेतृ सुचीविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको छ । म्यानमार प्रहरीले सुचीविरुद्ध बिनाअनुमति रेडियो वाकीटकी राखेको भन्दै आयात निर्यातको मुद्दा दायर गरेको छ ।

म्यानमारको सेनाले जननिर्वाचित सरकारविरुद्ध ‘कु’ गर्दै शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको हो । साथै सेनाले एक वर्षका लागि संकटकालसमेत घोषणा गर्दै टेलिफोन, इन्टरनेट, टेलिभिजन प्रसारणलगायतका सेवामाथि पनि प्रतिबन्ध लगाएको छ ।

आगामी एक वर्षका लागि सेना प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा गठन गरिएको ११ सदस्यीय जुन्ताले नै म्यानमारको शासनसत्ता चलाउने बताइएको छ । नोभेम्बरमा भएको आमचुनावमा धाँधली भएको आरोप लगाउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा खलल पुग्ने देखिएकाले शासनसत्ता नियन्त्रणमा लिनु परेको सेनाले जिकिर गरेको छ ।

नोभेम्बरमा भएको चुनावमा म्यानमारको तल्लो सदनमा सुचीको दल एनएलडी ३ सय ९६ सिटमा विजयी भएको थियो । म्यानमारको संविधानअनुसार सरकार बनाउन ३ सय २२ सिट आवश्यक पर्छ । नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भएपछि सैनिक योजनामा सन् २०१० मा दर्ता गरिएको युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट दलले नोभेम्बरको चुनावमा ३३ सिट मात्रै जितेको थियो ।

सेनाले धाँधली भएको आरोप लगाए पनि त्यहाँको निर्वाचन आयोगले भने चुनाव निष्पक्ष रुपमा सम्पन्न भएको बताउँदै आएको छ । - ईकान्तिपुर बाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial