अन्टुफ संगठनात्मक संरचनागत हेरफेरसहित अभियान र संघर्षमा उत्रियो


महासंघको पुरानो, अनाबश्यक र भद्दा संरचनालाई भत्काउँदै चुस्त दुरुस्त संरचनाकासाथ नयाँ अभियान र समसामयिक जल्दाबल्दा विषयमा संघर्षको उठान गर्ने अठोटकासाथ अन्टुफ पदाधिकारीको बैठक सम्पन्न भएको छ । यसैका आधारमा कार्यविभाजनमा पनि ठूलो फेरबदल गरी महासंघलाई झन नयाँ उचाईमा पुर्याउँन अघि बढेको छ ।

११ चैत्र ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)को केन्द्रीय पदाधिकारी बैठकले सांगठनिक जिम्मेवारी फेरबदल गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गराउन संघर्षमा जाने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले महासंघको परिषद संरचनालाई विघटन गरी सामाजिक सुरक्षा कार्यान्वयन साथै श्रमिकको न्यूनतम पारिश्रमिक गत साउनदेखि बृद्धि गराउन र श्रम ऐनका मजदुर विरोधी दफा खारेजीका लागि संघर्षमा जाने निर्णय गरेको हो ।

महासंघका उपाध्यक्ष जय कार्कीका अनुसार यस पदाधिकारी बैठकले संगठनको जीवनमा महत्वपूर्ण निर्णय गरेको छ । जसले संगठनलाई नयाँ गति प्रदान गर्नेछ ।

उपाध्यक्ष कार्कीले परिवर्तित राजनीतिक परिवेशमा प्रदेश र विभागहरु क्रियाशील हुनुपर्ने निष्कर्षसहित प्रदेशका इन्चार्ज साथै विभागीय प्रमुखहरु फेरबदल गरिएको बताए ।

बैठकमा महासंघका फ्याक्सन इन्चार्ज जयपुरी घर्तीले प्रतिनिधिसभा विघटनका विरुद्ध विशेषत प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश साथै स्वेच्छाचारी कदमकाविरुद्ध भएका आन्दोलनको अग्रपंक्तिमा रहेर संघर्ष होमिएकामा महासंघका सबै तहका कमिटी, नेतृत्वसहित सम्पूर्ण कमरेडहरुलाई धन्यवाद दिएको पनि उपाध्यक्ष कार्कीले जानकारी दिए ।



उनले महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले श्रम ऐनको दफा १४५ लगाएर र कोरोनालाई देखाएर मजदुर निश्कासन गर्ने रोजगारदाताको रवैया अहिले पनि कायमै रहेकाले निश्कासित मजदुरको पुनर्बहाली, सामाजिक सुरक्षा कार्यान्वयन, न्यूनतम वेतन बृदिका लागि प्रदेश, जिल्ला महासंघ साथै पेशगत संगठनलाई संघर्षको तयारी गर्न र तत्काल सांगठनिक अभियानमा जान निर्देशन दिएको पनि बताए ।

राष्ट्रिय टाइम्स समाचार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial