अहिलेसम्म आधाले मात्रै पाए कोरोना बीमाको भुक्तानी



काठमाडौं ।
कोरोना बीमाको माग दाबी गर्नेहरूमध्ये अहिलेसम्म ५६ प्रतिशतले मात्रै भुक्तानी पाउन सफल भएका छन् । कोरोना बिमा दाबी भुक्तानीमा ढिलाइ हुँदा अर्थमन्त्रालयले समेत चासो लिएपछि कम्पनीहरूले भुक्तानी दिन थालेका हुन् ।

बिमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय ७४ जना सर्वसाधारणले दाबी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेका छन् । त्यसमध्ये ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँबराबरको भुक्तानी पाएका छन् । भुक्तानी हुन बाँकी दाबीमध्ये ३ हजार १ सय १२ वटा स्वीकृतिको प्रक्रियामा रहेको छ । त्यस्तै १० हजार ९ सय ४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छानबिन गरिरहेको छ । त्यसैगरी ४ हजार २ सय ३३ वटा दाबी महाशाखामा पठाउने तयारीमा रहेका छन् ।

त्यस्तै १४ हजार ३ सय ९३ दाबीउपर छानबिन भइरहेको छ । ३ हजार ६ सय ३९ वटा दाबी भुक्तानी कागजपत्र अपुग भएका कारण कम्पनीमा फिर्ता पठाइएको तथा ४ सय ८२ वटा दाबी भने भुक्तानी योग्य नरहेको समितिले जनाएको छ ।

महामारीको बिमा नहुने सिद्धान्तविपरीत बिमा समितिको दबाबमा नेपालमा कोरोना बिमा सुरु गरिएको थियो । कोरोना बिमा मापदण्ड, २०७७ जारी गर्दै निर्जीवन बिमा कम्पनीहरूले पुल बनाएर बिमा गर्ने व्यवस्था गरिएको थियो । सरकारले बजेटमार्फत घोषणा गरी कोरोना बिमालाई प्रोत्साहन गर्दै सामूहिक बिमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण छोटो समयमा धेरै कोरोना बिमा लेख बिक्री भयो ।

कोरोना संक्रमण बढ्दै गएपछि कम्पनीहरूले धान्न नसक्ने भन्दै जेठ २२ गतेबाट बिमा कार्यक्रम बन्द गरेका थिए । तर, अर्थमन्त्रालयले दबाब दिएपछि एक दिनमै जेठ २३ गतेबाट पुनः सुरु गरिएको थियो । जसमा १० हजार जनासम्मको दाबी भुक्तानी निर्जीवन बिमा कम्पनीले, १० हजारदेखि २० हजारसम्मको दाबी पुनर्बिमा कम्पनीले, २५ हजारसम्मको दाबी निर्जीवन कम्पनीको महाविपत्ति कोषबाट, २५ देखि ३५ हजारसम्मको दाबी बिमा समितिले र ३५ हजारभन्दा माथिको दाबी सरकारले बेहोर्ने सहमति गरिएको थियो । भदौ २८ गते पुनः मापदण्ड संशोधन गरी बिमितलाई उपचार खर्चका आधारमा दाबी भुक्तानी दिने गरी स्वास्थ्य बिमाको स्वरूपमा संशोधन गरिएको छ ।

कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाइ भएसँगै आलोचना भएपछि अर्थमन्त्रालयले यसलाई छिटो गर्न पटक पटक निर्देशन दिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial