घाँस काट्न जाँदा बेपत्ता भएका किशोरीहरुलाई भारत लगिएको आशंका



काठमाडौं
। घाँस काट्न जाँदा बेपत्ता भएका महोत्तरीका ८ जना किशोरीहरुलाई भारततर्फ लगिएको हुन सक्ने आशंका गरिएको छ । हिजो दिउँसो घाँस गएका महोत्तरी भंगहा नगरपालिका वडा नम्वर ८ का एकै टोलका ती किशोरीलाई भारततर्फ लगिएको हुन सक्ने परिवारको आशंका रहेको प्रहरीले जनाएको छ ।

उनीहरु सीतामणिमा भेटिएको भन्ने जानकारी आएको तर पुष्टि नभइसकेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मंगलवार दिउँसो २ बजे घाँस काट्न जाँदा बेपत्ता भएका किशोरीको खोजी कार्य तिव्र पारिएको छ । तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् ।

घाँस काट्न गएका उस्तै उमेर समूहका ८ जना किशोरी बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ । टोलबासीसहित आफूहरू किशोरीको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशराज आचार्याले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial