प्रिन्सिपलद्धारा छात्रामाथि यौन दुर्व्यवहार, कलेजकै दबाबमा एक महिनासम्म घटना ‘गुपचुप’



विराटनगर:
मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा रहेको शिक्षा सन्देश म्यानेजमेन्ट कलेजका प्रिन्सिपलले छात्रामाथि गरेको यौन दुर्व्यवहारलाई ‘गुपचुप’ पारिएको घटना बाहिर आएको छ ।

शैक्षिक भ्रमणमा काठमाडौं लगेर प्रिन्सिपल राजेश खत्रीले कक्षा १२ मा अध्ययनरत १६ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना झन्डै एक महिनादेखि ‘गुपचुप’ राखिएको हो । काठमाडौंबाट फर्किएर कलेजमा पुगेपछि पनि नेपाली कांग्रेस बेलबारी नगर समितिका सचिवसमेत रहेका खत्रीले पुनः दुर्व्यवहार गरेको पीडितको भनाइ छ । कलेज सञ्चालक र गाउँकै अगुवाको धम्की एवं दबाबका कारण लामो समयसम्म पीडित पक्ष न्याय पाउनबाट बञ्चित भइरहेको पाइएको छ ।


सामसुम पार्ने प्रयासस्वरूप घटनालाई गोप्य राख्न दबाब दिएपछि न्याय पाउन नसक्दा पीडित परिवार झन् तनाव झेलिरहेको छ । कलेज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने तथा शिक्षकहरु र गाउँकै अगुवाको दबाबमा पीडित पक्ष कानुनी कारबाहीमा जान नसकिरहेको स्थानीय बासिन्दाले बताए । उनीहरूका अनुसार पीडित पक्षलाई विभिन्न डरत्रास देखाउने र धम्की दिने काम भइरहेको छ ।

कक्षा १२ को होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कलेजले प्रति विद्यार्थी नौ हजार रुपैयाँ उठाएर गत चैत ११ गते शैक्षिक भ्रमणका लागि काठमाडौं लगेको थियो । कलेजकै को १ क ३३३७ नम्बरको बसमा लगेर गौशालास्थित होटल मन्दाकिनीमा राख्दै विभिन्न ठाउँमा भ्रमण गराइ प्रयोगात्मक अभ्यासमा पनि सहभागी गराइएको एक विद्यार्थीले बताए । भ्रमणमा कलेजका अनुशासन इन्चार्ज रोशन परियार र शिद्धार्थ घिमिरे विद्यार्थीसँग बसमै काठमाडौं गए पनि प्रिन्सिपल खत्री भने थिएनन् ।

काठमाडौंमै भेटिएका उनले चैत १३ गते छात्रामाथि यौन दुर्व्यवहार गरेको पीडित छात्रासँगै भ्रमणमा गएकी उनकी साथीले बताइन् । उनका अनुसार दिउँसो स्वयम्भू घुमेर फर्किने क्रममा लडेर छात्राको खुट्टामा हिँड्नै नहुने गरी समस्या भएको थियो । ‘स्वयम्भूबाट फर्किएपछि सबै विद्यार्थी वौद्धतिर भ्रमणमा जाने कार्यक्रम थियो । साथी जानसक्ने अवस्थामा नभएकाले दुखेको खुट्टा मालिस गरिदिएर हामी चैँ गयौँ,’ उनले भनिन्, ‘प्रिन्सिपल पनि हामीसँग जानु भएन । तर फर्किएर आएपछि मलाई प्रिन्सिपलले यौन दुर्व्यवहार गर्नुभयो भनेर साथीले सुनाइन् ।’

उनका अनुसार होटलमै सुतिरहेका बेला ढोका खोल्न लगाउँदै कोठभित्र छिरेर प्रिन्सिपल खत्रीले यौन दुर्व्यवहार गरेका हुन् । ‘कोठाभित्र छिरेपछि दुखेको खुट्टा सुमसुम्याएर शरीरका संवेदनशील अंग चलाउँदै अँगालो हालेर मोबाइलमा सेल्फी खिच्न खोजेको पाइयो,’ उनले भनिन्, ‘मोबाइलको ‘स्टोरेज फुल’ भएकाले फोटो खिच्न नपाएपछि हातमा समातेर प्रिन्सिपलले ऐना अगाडि लग्दै उचाई नापौँ भनेरसँगै उभ्याउनु भएछ ।’ उनका अनुसार संवेदनशील अंगमा हात लगाउँदै गाला टँसाउन थालेसँगै प्रतिकार गरेपछि प्रिन्सिपल खत्री यो कुरा कसैलाई नभन्नु भन्दै निस्किएर गएको साथीले सुनाएकी छन् ।

पीडित छात्राले घटना भएकै दिन सबै कुरा घुमफिरमा फर्किएका साथीहरुलाई सुनाएकी थिइन् । त्यतिबेलै प्रश्न गर्दा प्रिन्सिपल खत्रीले गल्ती भएको भन्दै कुरा बाहिर नल्याउन दबाब दिएको अरु विद्यार्थीले बताए । पीडित छात्राले साथीहरुमार्फत राति १२ बजेतिर फोन गरेर अभिभावकलाई घटनाको जानकारी गराइन् ।

‘अब पढ्नलाई कलेज जान पनि डर लाग्न थाल्यो,’ एक छात्राले भनिन्, ‘अभिभावकजत्तिकै जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने शिक्षकबाट असुरक्षित भएका छौँ ।’ उनका अनुसार पीडितलाई न्याय दिने भन्दा पनि घटना लुकाएर उल्टै पीडकलाई उन्मुक्ती दिने काम भइरहेको छ । घटना सुनेपछि तनावमा परेका अभिभावकले कलेज प्रशासन समक्ष प्रिन्सिपललाई कारबाहीको माग राखेका थिए ।

भ्रमणमा गएको टोली पनि १५ गते बिहान आइपुग्यो । त्यसपछि कलेज प्रशासनले बोलाएको छलफलमा पनि खत्रीले उल्टै कोठाभित्र लगेर दुव्र्यवहार गरेको पीडित छात्राका बाबुले बताए । कलेजले शैक्षिक भ्रमणमा लग्ने भनेपछि जान दिँदा छोरी उल्टै जघन्य अपराधबाट पीडित बनेर फर्किनुपर्ने अवस्था आएकाले केही सोच्नै सक्ने अवस्थामा नरहेको उनको गुनासो छ ।

उनका अनुसार घटनाका बारेमा सुनाउँदा अनुशासन प्रमुख परियारले प्रिन्सिपललाई फसाउन खोजिएको भनेर गालीगलौज गर्दै धम्क्याए । ‘यो कुरा बाहिर अरुलाई सुनाउँदा बद्नाम हुन्छ र उल्टै समस्या पर्छ भन्दै परियारले बन्द कोठामा राखेर बारम्बार छोरीलाई धम्क्याए,’ उनले भने, ‘प्रिन्सिपलले चैँ बारम्बार खुट्टा ढोगेर माफी मागिरहे ।’
उनले गल्ती स्वीकार गर्दै माफी मागेको अडियो रेकर्ड पनि सार्वजनिक भएको छ । रेकर्डमा छात्रा बसेको कोठामा आफू गएर गल्ती गरेको भन्दै खत्रीले यसलाई ठूलो घटना नबनाइदिन बारम्बार आग्रह गरेको सुन्न सकिन्छ ।

पीडित छात्राका बाबुका अनुसार कलेज आइसकेपछि पनि खत्रीले छोरीलाई एक्लै घुम्न जानुपर्छ र यो कुरा कसैलाई नभन्नु भन्ने प्रस्ताव राखे । ‘छोरीलाई जागिर लगाइदिनेसम्मको प्रलोभन देखाइएको छ,’ उनले भने, ‘अर्को कलेजमा भए पनि निःशुल्क पढ्ने व्यवस्था मिलाइदिन्छु भनेका छन् ।’ प्रिन्सिपलबाटै गलत हर्कतको सिकार छोरी हुनुपर्दा आफूहरु ठूलो मानसिक तनावमा रहेको उनले सुनाए । ‘विद्यार्थीले सबैभन्दा बढी सम्मान गर्ने शैक्षिक अगुवाबाटै गलत व्यवहार खेप्नुपर्दा ठूलो चोट परेको छ,’ उनले भने, ‘कलेजको प्रतिष्ठामा आँच आउनेभन्दै सञ्चालक र शिक्षकहरुले घटना बाहिर नल्याउन बारम्बार दबाब दिइरहेपछि हामी खुल्न सकेनौँ ।’

कसैलाई सुनाएमा र कतै उजुरी गरेमा राम्रो नहुने चेतावनीपूर्ण धम्की कलेज प्रशासन, स्थानीय अगुवा र राजनैतिक दलका नेताबाट आइरहँदा आफूहरु झन् अप्ठेरोमा परेको गुनासो उनको छ । ‘सबै पक्षबाट मिल्नुपर्छ भन्दै दबाब आएपछि हामी कानुनी कारबाहीमा जान सकिरहेका छैनौँ,’ उनले भने, ‘छोरी र परिवार नै असुरक्षित हुन्छौँ कि भन्ने त्रास पालेर बसिरहनु परेको छ ।’

यो घटना बाहिर आएपछि प्रिन्सिपलको चरित्रमाथि अरु छात्राहरुले पनि प्रश्न उठाएका छन् । ‘विभिन्न मोबाइल नम्बरबाट नचिनेजस्तै गरी प्रिन्सिपलले रातिराति फोन गरेर दुःख दिनुहुन्छ,’ एक छात्राले भनिन्, ‘बारम्बार घुम्न जानुपर्छ र रमाइलो गर्नुपर्छ भन्नुहुन्छ ।’ उनका अनुसार प्रिन्सिपल खत्रीले कलेजका अरु छात्राहरुलाई पनि यसरी नै ‘ब्ल्याकमेलिङ’ गरेर दुःख दिइरहेका छन् ।

सञ्चालक समितिको बैठकले प्रिन्सिपल खत्री र अनुशासन प्रमुख परियारलाई कागज गरेरै बर्खास्त गरिएको कलेज प्रशासनले जनाएको छ । तर कागजमा यौन दुर्व्यवहारको विषय उल्लेख गरिएको छैन । शैक्षिक संस्थाको प्रतिष्ठामा आँच आउने गरी नैतिकहीन आचारण देखाएर अनुशासनहीन काम गरेको र उक्त कुरा स्वीकार पनि गरिसकेका कारण प्रिन्सिपल खत्री तथा घटना ढाकछोप गरेको भन्दै अनुशासन प्रमुख परियारलाई बर्खास्त गरिएको कागजमा उल्लेख छ ।

कागजमा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने र सदस्यहरु माधवप्रसाद पोख्रेल, सीताराम न्यौपाने, शिवकुमार रुपाखेती र काउन्सिलर भूपाल बस्नेतको हस्ताक्षर छ । समितिका सदस्य सचिव समेत रहेका प्रिन्सिपल खत्री र समितिका सदस्य केशव गिरीको हस्ताक्षर छैन । तर हस्ताक्षर गर्नेहरुले नै घटनालाई बाहिर नल्याउन र मिलापत्र गर्नका लागि दबाब दिइरहेको गुनासो पीडित पक्षको छ ।

छात्रामाथि भएको यौन दुव्र्यवहारलाई बाहिर नल्याउन पीडित परिवारलाई बाध्य पारिएको यस घटनामा वडाध्यक्ष घनश्याम गौतम पनि विवादमा तानिएका छन् । पीडितलाई थप आघात पुर्‍याउने गरी पाँच लाख रुपैयाँ पैसा लिएर घटना सामसुम पारिएको हल्ला फिँजाएको आरोप उनीमाथि छ ।

यहि विषयलाई लिएर बुधबार पीडित परिवार र स्थानीय बासिन्दाले वडा कार्यालय घेराउ गरिरहँदा र छलफल चलिरहँदा वडा कार्यालय छिरेका एमाले बेलबारीका नेता इरान राईले वडाध्यक्ष गौतमलाई भने लिएर गएका थिए । पैसा लिएको प्रमाणित गर्न चुनौति दिएर पीडित पक्ष र महिला अधिकारकर्मीहरु वडा कार्यालय पुगेपछि वडाध्यक्ष गौतमले आफूले गल्ती कुरा बोलेको भन्दै पटक–पटक माफी मागेका थिए ।

घटनापछि पीडित छात्रा भने मानसिक तनावमा छिन् । ‘छोरी कोहीसँग पनि बोल्न नमान्ने र टोलाइरहने गर्छिन्,’ बाबुले भने, ‘मानसिक रूपा थप विक्षिप्त बन्दै गइरहँदा उपचार गर्नलाई पनि लैजान पाइएको छैन ।’ पीडक पक्ष र गाउँकै अगुवाको दबाबका कारण न्याय नपाउँदा आफूहरु थप पीडित बनेको उनको गुनासो छ ।

घटनाका बारेमा अध्यक्ष थापाले केही बोल्न मानेनन् । काउन्सिलर भूपाल बस्नेतले भने घटना मिलाइसकिएको बताए । ‘दुई जनालाई कारबाही गरेर कलेजबाट निकालिएका कारण घटना मिलिसकेको छ,’ उनले भने, ‘अब यसलाई थप उचाल्न आवश्यक छैन ।’ अध्यक्ष थापासहित उनी लगायत अरु धेरै अगुवा घटना मिलाउने मूख्य भूमिकामा देखा परेको स्थानीयको भनाइ छ ।

स्थानीय पत्रकार भक्तशेर लिम्बू पीडित परिवारको सोझोपनको फाइदा उठाउँदै गलत हर्कत गर्ने प्रिन्सिपललाई बचाउने खेल भइरहेको बताउँछन् । ‘आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गर्ने पीडकलाई कारबाही भएको छैन,’ उनले भने, ‘उल्टै जोगाउन सबै लागिपरेका छन् ।’

पीडित परिवार न्याय माग्दै र प्रिन्सिपल तथा घटना ढाकछोप गर्नेलाई कारबाहीको माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय बेलबारी पुगेको थियो । प्रहरीले किटानी जाहेरी दिनू कारबाही हुन्छ भनेपछि फर्किएर घरतिर गएको पीडित परिवारलाई घटना मिलाउन खोज्नेहरुले प्रहरी कार्यालयमा जान दिएका छैनन् । बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले घटनाका बारेमा कुनै जानकारी नआएको बताए । ‘कुनै उजुरी वा जाहेरी आएमा घटनाको अनुसन्धान थाल्छौँ,’ उनले भने, ‘त्यसमा संलग्न र मिल्न तथा घटना बाहिर नल्याउन दबाब दिने सबैलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।’ - अन्नपुर्ण पोष्ट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial