व्यापार घाटा १० खर्ब नाघ्यो, आयात र निर्यात दुवै वृद्धि



चालु आर्थिक वर्षको ९ औं महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ ।

कोरोना महामारीका बाबजुत नेपालको वैदेशिक व्यापारमा भने असर पुगेको छैन । यस अवधिमा आयात र निर्यात गत वर्षको यसै अवधिको तुलनामा बढ्दा समग्र वैदेशिक व्यापार र व्यापार घाटामा समेत उल्लेख्य वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार चालु आवको चैत मसान्तसम्म नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । आयातमा भएको उच्च वृद्धिले व्यापार घाटा चुलिएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

विभागको तथ्यांक अनुसार नेपालमा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चैतसम्म कुल ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ छ । यो गत आवको यसै अवधिको तुलनामा १३.१२ प्रतिशतले बढी हो ।

आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । यद्यपि नेपालमा निर्यात भने आयातको तुलनामा निकै कम हुने गरेको छ । जसले व्यापार घाटा बढाउन समेत भूमिका खेलेको छ । ९ महिनाको अवधिमा नेपालले मात्र ९४ अर्ब ७६ करोड ८० अर्ब ७१ करोड रुपैयाँको निर्यात गर्न सकेको छ । यो निर्यातले नेपालको पेट्रोलियम पदार्थ आयात समेत धान्न सक्दैन । चालु आवमा वस्तु निर्यातमा गत आवको यसै अवधिको तुलनामा २०.२३ प्रतिशत बढी निर्यात भएको छ ।

९ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार १२ खर्ब माथि छ । तथ्यांक अनुसार यस अवधिमा कुल १२ खर्ब ६ अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधिको तुलनामा १३.६४ प्रतिशतले बढी भएको छ ।

नवौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ । यस्तो आयात १ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको भएको छ । यो रकम नेपालले गर्ने कुल वस्तु निर्यात भन्दा निकै बढी हो ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोही कारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ ।

तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले भारतबाट ७ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने भारतमा मात्र ६८ अर्ब ४३ करोड रुपैयाँ बराबरको भएको छ । यसले भारतसँग व्यापार घाटा ६ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । यस अवधिमा चीनतर्फ मात्र ६८ करोडको सामान निर्यात हुँदा आयात भने १ खर्ब ६४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial