हत्या गरि मकैबारीमा फ्यालिएको अवस्थामा महिलाको सव फेला



विराटनगर :
मोरङको कानेपोखारिमा आफन्तको बिहेमा जान भनेर काम गर्ने कृषि फार्मबाट हिँडेकी एक महिलाको हत्या भएको छ। हत्या गरेर फ्याँकिएको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेनको शव फेला परेको हो।

रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृत फेला परेकी उनको ढिलो गरेर पहिचान खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार गत आइतबार टाउको, घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अर्धनग्न अवस्थामा सरीताको शव फेला परेको थियो।
 
बुवा धनुष सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। पहिचान हुन नसकेको शवलाई विराटनगरस्थित कोसी अस्पतालको शवगृहमा ल्याएर राखिएको थियो। बुवाले सनाखत गरेपछि पोस्टमार्टम गरेर शव परिवारका सदस्यको जिम्मा लगाइएको डीएसपी राईले बताए। उनका अनुसार मृतकको शरीरका विभिन्न भागमा गहिरो चोट रहेका कारण हत्या गरेर फ्यालेको आशंकामा गम्भीर रूपले घटनाको अनुसन्धान अघि बढाइएको छ।

मोरङ प्रहरीका अर्का डीएसपी मञ्जील मुकारुङ नेतृत्वको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको हो। पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्दै जाने प्रहरीको भनाइ छ। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। तर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुई वर्षअघि नै श्रीमान गुमाएकी मृतक सरीता कानेपोखरी–२ मा रहेको कृषि फार्ममा काम गर्थिन्। उनका एक छोरा पनि छन्। काम गर्ने फार्मबाट आफन्तको बिहेमा जाने भन्दै उनी बिदा मागेर गत शुक्रबार हिँडेको पाइएको डीएसपी राईले बताए। उनका अनुसार घर नफर्किएकी सरीताको शव दुई दिनपछि आइतबार हत्या गरेर फ्यालेको अवस्थामा फेला परेको हो।
 
पहेँलो कुर्ता र कालो सलवार लगाएकी महिलोको शव भैँसीलाई घाँस काट्न गएका स्थानीय रामप्रसाद भण्डारीले मकैबारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले लगाएका कपडा च्यातिएका र सलवार पनि सुर्किएको अवस्थामा शव भेटिएको जानकारी डीएसपी राईले दिए। त्यस्तै घटनास्थलमा स्क्याच नभएको रिचार्ज कार्ड पनि फेला परेको छ।
 
‘घटनाको प्रकृति र लगाएका कपडा च्यातिएको तथा सुर्किएको अवस्थालाई हेर्दा बलात्कार वा बलात्कार प्रयास भएको हो किन भन्ने आशंका गर्ने प्रशस्त आधारहरु छन्,’ राईले भने, ‘तर पोस्टमार्टम रिपोर्ट प्राप्त भएर अनुसन्धान विस्तृत रूपमा अघि बढाएपछि मात्रै यकिन हुन्छ।’ उनका अनुसार घटनाको प्रकृति हेर्दा बलात्कार गरिएको वा गर्न खोजिएको र प्रतिकार गर्न थालेपछि ढुंगा वा अरु कुनै वस्तुले हिर्काएर हत्या गरिएको हुनसक्छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो। उक्त कुकुर घटनास्थल रहेको मकैबारीबाट भित्री बाटो हुँदै गाउँसम्म पुग्यो।
 
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जना व्यक्तिमाथि आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको छ। तर उनीहरुले घटनामा संलग्नता स्वीकार गरि नसकेकाले अनुसन्धानको दायरा थप फराकिलो पारिएको प्रहरीले जनाएको छ। - अन्नपूर्ण पोष्ट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial