६ महिनादेखि बन्द निजी कम्पनी अक्सिटेक नेपालबाट सेनाले थाल्यो अक्सिजन उत्पादन



करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको अक्सिटेक नेपाल प्रालिको प्लान्टबाट नेपाली सेनाले अक्सिजन उत्पादन थालेको छ । कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै मुलुकमा भइरहेको अक्सिजन अभावको अवस्थालाई दृष्टिगत गरी सेनाले निजी कम्पनीको प्लान्टबाट अक्सिजन उत्पादन थालेको हो ।

सेनाले सञ्चालन गर्दै आएको ६० क्युविक (घनमिटर) क्षमताको प्लान्ट बिग्रिएपछि बन्द अवस्थामा रहेको निजी प्लान्टलाई उपयोग गरी अक्सिजन उत्पादन थालिएको नेपाली सेनाले जनाएको छ । ‘बिहीबार दिउँसोदेखि हामीले अक्सिजन उत्पादन थालेका छौं,’ सेनाका प्राविधिक सुवेदार विजयकुमार श्रेष्ठले भने, ‘कोरोना भाइरसका विरामीले अक्सिजन समेत नपाइरहेको अवस्थामा बन्द रहेको कम्पनीलाई पनि हामीले सुचारु गरी उत्पादन थालेका हौं, यसले अक्सिजन आपूर्तिमा थोरै भए पनि मद्दत पुर्याउँछ भन्ने हाम्रो विश्वास छ ।’

उनका अनुसार पुष्कर पण्डित र विशाल पण्डितले सञ्चालन गरेको थानकोटस्थित उक्त कम्पनी ८० क्युविक क्षमताको हो । सो प्लान्टबाट क्षमता अनुसार प्रतिघण्टा ११ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने भए पनि हाल करिब डेढ घण्टा बराबर ११ वटा सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ ।

पण्डितद्वयले नोक्सानमा गएको भन्दै ६ महिनाअघि प्लान्ट बन्द गरेका थिए । अहिले राज्यलाई आवश्यकता भएको बखत सेनाले सञ्चालनमा ल्याएको सञ्चालक विशाल पण्डितले बताए । ‘अक्सिजनको खपत ह्वात्तै बढेको बेलामा सेनाको प्लान्ट बिग्रिएपछि हामीलाई प्लान्टको अवस्था र बन्द गर्नाका कारण सोध्नुभएको थियो । हामीले आफ्नो कारण बताएपछि उहाँहरूले हामी उत्पादन गर्छौं भन्नुभयो, हामीले पनि सहमति दिएपछि अहिले उत्पादन थालिएको हो,’ पण्डितले भने ।

कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणमा राज्यलाई सहयोग गर्ने उद्देश्यअनुरूप आफूहरूले सेनालाई सहमति दिएको बताउँदै उनले भने, ‘अहिले त म आफैं पनि कोरोना संक्रमण भएर होम आइसोलेशसनमा बसेको छु । उहाँहरूसँग थप कुराकानी केही भएको छैन । हामीले नाफा कमाउने सोचले प्लान्ट दिएका होइनौं ।’ सङ्कटको बेलामा राज्यलाई मद्दत गर्नु आफूहरूको पनि दायित्व भएको पण्डितको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial