व्यापारीले लुकाए अक्सिजन सिलिन्डर


अमित मेडिसिनको गोदाममा छापा मार्दा ६० सिलिन्डर फेला, प्रतिसिलिन्डर ४० हजार रूपैयाँमा मोलमोलाइ


धनगढी — सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमित र अन्य बिरामी छटपटाइरहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरिरहेको पाइएको छ ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुकाएको चर्चा चलेपछि छापा मार्दा ६० वटा सिलिन्डर भेटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलाली, प्रहरी र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा बुधबार छापा मारेका थिए । बस्नेतले अन्य सिलिन्डर पनि लुकाएरै राखेको अनुमान गरिएको छ । ‘खरिद–बिक्रीका सबै कागजात तीन दिनभित्र पेस गर्न बस्नेतलाई भनेका छौं,’ वाणिज्य कार्यालयका प्रमुख कमल पुनले भने ।

बस्नेतले आफू सुदूरपश्चिममा मेडिकल क्षेत्रको ठूलो आपूर्तिकर्ता भएकाले अक्सिजन सिलिन्डर मौज्दात हुनु स्वाभाविक भएको बताए । ‘मकहाँ नभए कोसँग हुन्छ त ?’ उनले भने, ‘क्षेत्रीय मेडिकल स्टोर, सेती प्रादेशिक अस्पताल र पहाडी जिल्लाका सरकारी अस्पतालमा विगतदेखि नै मैले मागअनुसारको अक्सिजन उपलब्ध गराउँदै आएको छु ।’

डडेलधुरास्थित अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझाले मंगलबार बस्नेतसँग अक्सिजन सिलिन्डर खरिद गर्न खोज्दा प्रतिसिलिन्डर ४० हजार पर्ने बताएको सुनाए । ‘डडेलधुराका पाँचवटा पालिकाले २०/२० वटा सिलिन्डर खरिद गर्ने सल्लाह गरेर बस्नेतसँग कुरा गरेका थियौं,’ ओझाले भने, ‘बस्नेतले हामीसँग ४० हजारका दरले चाहिएजति सिलिन्डर उपलब्ध गराउन सक्ने बताएका थिए ।’

व्यवसायीका अनुसार नयाँ किन्नुपरे प्रतिसिलिन्डर सरदर १५ हजार रुपैयाँ पर्छ । ग्यास मात्रै भरेको ८ सय रुपैयाँदेखि एक हजारसम्म पर्ने गरेको छ । बस्नेत भने अहिलेको अवस्थामा रेटको कुनै कुरै नहुने बताउँछन् । ‘अहिलेको अवस्थामा प्रतिसिलिन्डरको दर सोध्दै नसोध्नुस्, जतिमा पनि बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘हिजै मात्र मैले जीआईजेडलाई ९० वटा सिलिन्डर बिक्री गरें ।’

बस्नेतले आफू व्यापारी भएकाले खरिद–बिक्री गर्ने अधिकार रहेको बताए । ‘यहाँबाट भारततर्फ पनि बिक्री भइरहेको छ,’ उनले भने, ‘मैले भारत पठाएको छैन । यसबीचमा ८५ वटा त सेती अस्पताललाई दिएको छु ।’ काठमाडौं, जनकपुरलगायत जहाँ पायो त्यहीँबाट मोलमोलाइ गरेर सिलिन्डर धनगढी ल्याउने गरेको बस्नेतको भनाइ छ ।

अमित मेडिसिन डिस्ट्रिब्युटर्सका बस्नेतविरुद्ध नक्कली करचुक्ता कागजात पेस गरेर ठेक्का पारेको अभियोगमा २०७६ मंसिरमा अदालतमा मुद्दा चलेको थियो । उनले २०७४ माघ १० गते आन्तरिक राजस्व कार्यालयबाट जारी भएको करचुक्ताको किर्ते प्रमाणपत्र पेस गरेर २०७६ मा गेटा आँखा अस्पतालमा ४ करोड रुपैयाँभन्दा बढीको औषधि आपूर्तिको ठेक्का लिएको आरोप थियो ।

मुद्दा परेपछि फरार रहेका बस्नेतले २०७६ माघ २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका थिए । तर उनले प्रहरी हिरासतमा बस्नु परेन । उनलाई प्रहरीले स्वास्थ्य उपचारका बहानामा धनगढीको सीपी अस्पतालमा राखेको थियो । २०७६ फागुन १५ मा उनी जिल्ला अदालत कैलालीको आदेशमा १ लाख १० हजार धरौटी बुझाएर छुटेका थिए ।

सम्बद्ध व्यक्तिहरूका अनुसार अहिले पनि औषधि आपूर्तिमा सुदूरपश्चिमभरि बस्नेतकै एकछत्र राज छ । मुद्दामामिलापछि पनि उनले थुप्रै सरकारी निकायबाट औषधि आपूर्ति र उपकरण खरिदका ठूला ठेक्का हात पार्दै आएका छन् । उनले सेती प्रादेशिक अस्पतालमा एक दशकदेखि औषधि आपूर्ति ठेक्का लिँदै आएका छन् ।

धनगढीमा रहेको एक मात्र निजी क्षेत्रको अक्सिजन प्लान्ट तथा सेती, महाकाली, डडेलधुरा र बयालपाटा अस्पतालमा रहेका प्लान्टको दैनिक उत्पादन क्षमता २ सय ३५ सिलिन्डर मात्र हो । खपत भने निजीबाहेक सरकारी अस्पतालमै योभन्दा धेरै छ । निजी क्षेत्रबाट सञ्चालित मालिका अक्सिजन ग्यास उद्योगमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा मंगलबार उत्पादन रोकिएपछि समस्या भएको थियो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सार्वजनिक सूचना जारी गरेर अक्सिजनका लागि विभिन्न निकायसँग हारगुहार गरिरहेको छ । निजी क्षेत्रबाट सञ्चालित ठूला अस्पतालहरू नवजीवन, मायामेट्रो र निसर्ग अस्पतालले पनि अक्सिजन नपाएर बिरामीको ज्यान बचाउन कठिन हुँदै गएको भन्दै सहयोगको याचना गरिरहेका छन् । मंगलबार साँझ नवजीवन अस्पतालका डा. नीरज अर्यालले अक्सिजन नभएर उपचाररत ११ जना संक्रमितको जीवन संकटमा परेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गरे ।

यस्तै, मायामेट्रो अस्पतालका सञ्चालक धीरेन्द्र साउदले पनि बुधबार बिहानै भने, ‘श्वासप्रश्वासको बिरामीले अस्पताल भरिभराउ छ, हरेक बिरामीलाई प्रतिघण्टा १० देखि १५ लिटर अक्सिजन आवश्यक भइरहेको छ । बिरामी बचाउन रातिदेखि नै अक्सिजन खोजिरहेका छौं तर कतैबाट केही उपाय लागेको छैन ।’ निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले पनि अक्सिजनका लागि अन्य अस्पताल जस्तै हारगुहार गरिरहेका छन् । - इकान्तिपुर बाट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial