विद्यालय परीक्षा : एसईई प्रभावित हुनसक्ने, अन्य कक्षाको फेरि आन्तरिक मूल्याङ्कन !


निषेधाज्ञा र बन्दाबन्दीको प्रभावले जेठ महिनासम्म पुर्‍याइएको शैक्षिक सत्र लम्बिने वा सोही कायम हुने अन्योल देखिएको छ । कोभिडको त्रासमा रहेका करिब ८० लाख विद्यार्थी परीक्षा कहिले होला भनेर चिन्तित छन् ।

शिक्षा मन्त्रालयले विद्यालयले सञ्चालन गर्ने आन्तरिक मूल्याङ्कनलाई आधार मानि विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । राष्ट्रिय स्तरमा गर्नुपर्ने बाहेक अन्य कक्षाको परीक्षा विद्यालयले नै बैधता र विश्वसनीयता राख्दै कक्षोन्नति गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. दीपक शर्मा बताउनुहुन्छ ।


भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएकाले विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कक्षा ८ को परीक्षाका लागि सम्बन्धित स्थानीय तहको सहकार्यमा विद्यालय आफैँले निर्णय लिन सक्नेछन् ।

राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि एसईई परीक्षा र जेठ २६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गर्दै आन्तरिक तयारी गरिरहेको छ । स्थिति मुल्याङ्कन गरि बैशाख मसान्तसम्ममा पूर्व निर्धारित परीक्षा गर्ने वा नगर्ने निर्णय लिने तयारीमा मन्त्रालय छ ।

नेपालमा तीन घण्टे कापी र कलमको परीक्षणबाट निर्णयात्मक मूल्याङ्कनलाई मान्यता दिँँदै आएकोमा अब प्रणालीमा परिवर्तन गर्ने बेला भएको शिक्षाविद् डा. गोपाल पाण्डे बताउनुहुन्छ । परम्परागत प्रणालीबाट गरिने मूल्याङ्कन उपयुक्त नभएकाले सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले आफ्नो अनुकूलमा सञ्चालन गर्न सक्ने जनाएको छ । यस वर्षदेखि नयाँ पाठ्यक्रम लागू भएकाले प्रश्नको तरिकाका बारेमा पनि शिक्षकहरूलाई सहजीकरण गराउने तथा नमूना प्रश्नपत्र समेत सार्वजनिक गर्ने तयारीमा बोर्ड छ ।

एक शैक्षिक सत्रमा विद्यार्थीले आफू रहेको कक्षामा सिक्नुपर्ने न्यूनतम कुरा सिकेको निक्र्योल गरी माथिल्लो कक्षामा चढाइ कक्षोन्नति गर्ने बाटोमा विद्यालय छन् । - imagekhabar

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial