कोरोना संक्रमितको चाप बढेपछि बीपी प्रतिष्ठानमा पाँच भेन्टिलेटरसहित ४० बेड थप्ने निर्णय



सुनसरी —
कोरोना महामारीको दोश्रो लहरसँगै संक्रमितको चाप थेग्न गाह्रो भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच भेन्टिलेटरसहित ४० बेड थप्ने निर्णय गरेको छ । आइतबार ५ बजे बसेको पदाधिकारीको बैठकले पाँच भेन्टिलेटरसहित ४० बेड थप्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले बताए ।

बैठकपछि उनले भने,‘सय बेडको कोभिड अस्पतालमा रहेका १० आइसियू, २५ एचडियु बेड भरिएका छन् । आइसियु र एचडियुमा नराख्री अक्सिजन मात्र दिन पर्नेका लागि ६५ बेड पनि चाप बढेको छ । गम्भीर भएर आउने नयाँ संक्रमितका लागि हामीसँग आइसियु र एचडियु बेड छैन । विकल्पमा प्रतिष्ठानको आन्तरिक श्रोत साधन प्रयोग गरेर पाँच भेन्टिलेटरसहित ४० बेड थप्ने निर्णय गरेका छौं ।’ उनले अन्य निजी र सरकारी अस्पतालसँग समन्वय अभावले प्रतिष्ठानको अवस्था र क्षमता विचारै नगरी कोरोना संक्रमित रिफर भइरहेकाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने गरी बिरामी रिफरको व्यवस्थाका लागि एक कमिटी पनि गठन गरेको बताए ।

संक्रमितको चाप अझै बढेमा र थपिएका बेडले पनि नपुगेमा प्रतिष्ठानले दिने अन्य सेवा कटौती गरेर थप बेड विस्तार गर्न भने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार गर्ने रजिष्ट्रार रेग्मीले बताए । उलने भने, ‘प्रतिष्ठानले गम्भीर बिरामी मात्र ल्याउन सार्वजनिक अपिल गरे पनि आजको मितिसम्म प्रतिष्ठानले ओपिडी बन्द गरेको छैन । तर कोरोना संक्रमितको चाप बढेमा र मन्त्रालयले पनि निर्देशन दिएमा अन्य विभागका सेवा कटौती हुन सक्ने छ ।’

अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले कोरोना महामारीको दोश्रो लहर चलेसँगै संक्रमितहरुको चाप अत्यधिक हुन थालेपछि प्रतिष्ठानका अन्य विभागका सेवाहरुलाई कटौती गरेर कोभिड अस्पतालको रुपमा संचालन गर्न सरकारले निर्देशन दिएमा सोही अनुसार गर्नुपर्ने अवस्था आएको बताए ।

कोरोना संक्रमण भएको तर कुनै समस्या नभएका सामान्य अवस्थाकालाइ पनि प्रदेश १ र २ का सवै निजी र सरकारी अस्पतालले प्रतिष्ठानमै रिफर गर्न थालेकाले कोभिड अस्पतालले थेग्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।

कोभिड अस्पताल पनि हेरिरहेका प्रतिष्ठानको मुख्य इमर्जेन्सी विभाग प्रमुख प्राडा ज्ञानेन्द्र मल्लले कोरोनाका सामान्य बिरामीहरु पनि बेड ओगट्न आउन थालेको बताए । उनले भने, ‘कोरोना संक्रमण भए पनि लक्षण नै नदेखिएका सामान्य संक्रमितहरु पछि गाह्रो भएको बेला बेड नपाइएला भनेर अक्सिजन सहितको बेडमा भर्ना हुन आउन थालेका छन् । हाम्रो प्राथमिकता गम्भीर बिरामी हो । सामान्यले बेड ओगटेपछि गम्भीर बिरामी कहाँ जाने ?’

उनले मोरङबाट आएका एकै परिवारका यस्तै ६ जना संक्रमित भर्नाका लागि कोभिड अस्पतालमा आएका मध्ये ४ जनालाई आइतबार बिहान भर्ना नगर्दा अस्पतालले बिरामी भर्ना गर्न मानेन् भनेर गलत प्रचार भएकोमा गुनासो गरे । उनले सामान्य संक्रमितलाई स्थानीय तहले तयार गरेको आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा बस्दा हुनेमा कुनै समन्वय नै नगरी प्रतिष्ठानमा पठाउँदा चाप थेग्न नसकिएको बताए । - कान्तिपुर दैनिक 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial