आईसीयू अभावमा छटपटिँदै मृत्यु



रुपन्देही, दाङ, बाँके —
अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए ।

कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन् ।

संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्‍याइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृत्यु भयो ।

‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ?’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइयो । चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड खाली थिएन । फिभर क्लिनिक पनि भरिएको थियो । २४ घण्टादेखि अस्पतालको आपत्कालीन कक्षमा बेडको प्रतीक्षा गरिरहेका ती ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले आपत्कालीन कक्षमा अक्सिजनको सहायतामा राखिए पनि उनको मृत्यु भएको बताए ।

गत आइतबार नवलपरासीको रामग्राम नगरपालिका–९ का ५० वर्षीय पुरुषको मृत्यु भयो । किरियामा बसेका छोरालाई पनि कोरोना देखिएपछि अक्सिजन दिएर उपचार थालियो । ‘स्वास्थ्यमा सुधार आएन,’ मृतककी बहिनी पिन्कु केवटले भनिन्, ‘त्यसपछि बुटवल, भैरहवा लैजान चिकित्सकले सुझाव दिए ।’ दुवै स्थानका अस्पतालमा बुझ्दा आईसीयू बेड अभाव रहेको जानकारीपछि चिकित्सकले रेफर गर्न मानेनन् ।

मंगलबार बिहान उनको मृत्यु भयो । आईसीयू बेड मिलाइदिन हारगुहार गरे पनि उपलब्ध नहुँदा तीन दिनको फरकमा कोरोनाबाट बुबा र दाइ गुमाउनुपरेको उनले बताइन् । अहिले केवट परिवारका पाँच जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू घरमै बसिरहेका छन् ।

गत मंगलबार आईसीयू बेड अभावमा रूपन्देहीको देवदह–६ की कोरोना संक्रमित ४९ वर्षीया महिलाले लुम्बिनी अस्पतालको फिभर क्लिनिकमा छटपटाएरै ज्यान गुमाइन् । ‘बिहान ९ बजे अस्पताल पुर्‍याएका थियौं,’ देवदह नगर प्रमुख हीराबहादुर खत्रीले भने, ‘प्रादेशिक अस्पताल, भीम अस्पताल, क्रिमसन, काठमाडौंको ग्रान्डी, ह्याम्सलगायत सबै अस्पतालमा आईसीयूको खोजी गर्‍यौं, बेड छैन भन्ने जवाफ आयो । फिभर क्लिनिकमै ज्यान गयो ।’

अर्घाखाँचीमा कोरोना अस्पताल नहुँदा रूपन्देहीको बुटवल र भैरहवा रिफर गर्नुपर्ने बाध्यता छ । रूपन्देहीका अस्पतालमा बेड अभाव छ । त्यसैले उपचार नपाएरै संक्रमित फर्किने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए । ‘स्थानीय तहले निर्माण गरेका पाँच आइसोलेसन बेड प्रयोगविहीन छन्,’ उनले भने, ‘चिकित्सक माग गरिए पनि उपलब्ध नहुँदा समस्या परेको छ ।’ जिल्ला अस्पताल अर्घाखाँचीमा २ आइसोलेसन बेड छन् । तिनमा बाहेक सबै संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए ।

होम आइसोलेसनमा रहेका संक्रमितलाई घाँटी खसखसाउने, जीउ गल्ने, ज्वरो आउने लक्षण देखिएको दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालका चिकित्सक डा. कमल खड्काले बताए । ‘अस्पतालमा लक्षण देखिएका बिरामी आए पनि भर्ना गरेर राख्ने अवस्था छैन,’ उनले भने, ‘हाम्रो कोरोना अस्पतालका ४० बेड खचाखच छन् ।’ उनले अहिले नै पाँच संक्रमितलाई भुइँमा राखेर उपचार गरिरहेको बताए । पाँचवटा आईसीयूमा मेसिनबाट अक्सिजन दिइरहेको र एचडी बेडमा सिलिन्डर प्रयोग गरिरहेको बताए । चिकित्सकले भयावह अवस्था सिर्जना भएकाले तत्काल नयाँ अस्पताल निर्माण गर्नुपर्ने, स्थानीय तहले बनाएको आइसोलेसन सेन्टरमा चिकित्सकसहित अक्सिजनलगायत सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय सरकारले कोरोना उपचारमा हेलचेक्र्याइँ गरिरहे बिरामी मृत्युदर ह्वात्तै बढ्ने उनीहरूको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले भौतिक पूर्वाधार र जनशक्ति अभावले बिरामीको बिजोग भएको बताए । ‘सरकारी सहयोग नाममात्रको छ । संघीय सरकारले प्रतिबिरामी उपचार खर्च पठाएको छैन,’ उनले भने । अस्पतालले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा १३ वटा आईसीयू बेड र दुईवटा भेन्टिलेटर छन् । ३६ बेडको आइसोलेसन छ । भीम अस्पतालमा २२ बेडको एचडीयू र पाँच बेडको आईसीयू कक्ष छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनीमा वैशाख १६ गतेसम्म यहाँ रहेका ४ वटा कोरोना विशेष अस्पतालमा १ सय ९२, विभिन्न आइसोलेसन अस्पतालमा ३ सय ३४, आइसोलेसन सेन्टरमा ४ सय गरी ९ सय २६ बेडमा संक्रमितको उपचार भइरहेको छ ।

पेटीमै गयो ज्यान


दाङको तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाकी ६९ वर्षीया लक्ष्मी भण्डारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भयो । गाह्रो भएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल पुर्‍याइयो । गेटसम्म पुर्‍याइँदा भित्र शय्या नभएको जानकारी गराइयो । दुई घण्टा कुर्दाकुर्दै बिहान ९ बजे उनको मृत्यु भयो । ‘समयमै उपचार पाए ज्यान बच्थ्यो,’ उनका छिमेकी वीरबल खड्काले भने, ‘समयमै अक्सिजन चढाउन सकिएन । अस्पतालको पेटीमै छटपटिएर ज्यान गयो ।’

शव व्यवस्थापन गर्न नेपाली सेना आउँछ भन्दै दिनभर उनको शव पेटीमै राखियो । ‘सीडीओलाई फोन गरेपछि बल्लबल्ल दिउँसो सवा ३ बजे सेना आइपुग्यो,’ खड्काले भने, ‘जिउँदो हुँदा मात्रै होइन, मृत्युपछि पनि सुख मिलेन । यसरी उपचार नपाएर ज्यान जानु जस्तो विडम्बना अरू के हुन सक्छ ?’ हालसम्म कोरोना अस्पताल पुगेका भण्डारीसहित १३ जनाको ज्यान गइसकेको छ । ३५ शय्या क्षमता भएको अस्पतालमा ४३ बिरामी छन् । तीमध्ये अन्यलाई बल्लबल्ल शय्या मिलाइएको र ६ जनालाई बाहिरै पेटीमा अक्सिजन जोडेर राख्नुपरेको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । ‘मान्छे अन्तिम अवस्थामा क्यापक्याप गर्दै अस्पताल आइपुग्छन् । यहाँ बेड नै छैन । कसरी राख्नु ?’ वलीले भने, ‘बिरामीको अवस्था देखेर मनले नमानेपछि केहीलाई पेटीमै अक्सिजन जोडेर राखेका छौं ।’

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले कोरोना अस्पतालमा शय्या बढाएर ६५ वटा बनाउने निर्णय गरे पनि अहिलेसम्म विस्तार हुन सकेको छैन । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय शय्या बनाउने निर्णय भएको थियो । स्थानीय तहमा पनि आइसोलेसन सेन्टर बनाउने निर्णय भएर तयारी थालिएको छ तर अक्सिजन नभएका कारण अन्य ठाउँका आइसोलेसन सेन्टर सञ्चालनमा आउन सकेका छैनन् ।

अस्पतालमा ‘निषेध’

ज्वरोले ओछ्यानमा ढलेका उनका श्रीमान् तीन दिनपछि निको भए । श्रीमान्को सेवामा जुटेकी उनी ज्वरोले थलिइन् । त्यही बेला अस्पतालका बेड संक्रमितले भरिएको र नयाँ बिरामी भर्ना बन्द गरेको खबर सुनिन् । श्रीमान्लाई सन्चो भएकाले नेपालगन्ज–४ की ५० वर्षीया महिला निको हुने विश्वासमा थिइन् । उनी स्वास्थ्य मापदण्ड अपनाउँदै घरमै बसिन् । पीसीआर परीक्षण गर्न दबाब दिँदा अटेर गरिन् । गत मंगलबार उनको होम आइसोलेसनमा मृत्यु भयो । ‘हल्का प्रेसर थियो, डरले आत्तिएर मृत्यु भयो,’ मृतकका ज्वाइँ ईश्वर खड्काले भने, ‘ज्वरोलाई सामान्य ठानियो । उपचार नगराउँदा ज्यानै गयो ।’

कोरोनासित मेल खाने लक्षण देखिएर कोहलपुरका भूपेन्द्र खड्का परीक्षणका लागि शिक्षण अस्पताल पुगे । कर्मचारीले गेटभित्र छिर्न दिएनन् । त्यस्तो व्यवहारले हतोत्साहित भए । ‘कोरोना पुष्टि भइसकेको भए कस्तो व्यवहार हुन्थ्यो कुन्नि,’ उनले भने, ‘कोरोनाका बिरामीका लागि बेड छैन । अस्पतालले भर्ना लिन छाडेपछि समस्या भएको छ ।’ कोरोनाको लक्षण देखिएर अस्पतालमा भर्ना नलिने र अस्पतालमा उपचारका लागि नजाने प्रवृत्तिले मृतकको संख्या बढेको छ ।

उनी मात्र होइन, सामान्य रुघाखोकी लागेपछि उपचारलाई बेवास्ता गर्दा दाङकी २० वर्षीया स्टाफ नर्सले भेरी अस्पतालमा ज्यान गुमाइन् । कोरोनाका लक्षण देखिँदा पनि ढिलो पीसीआर परीक्षण गर्दा उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनकी आमालाई संक्रमण देखिएपछि भेरी अस्पतालमा उपचार भइरहेको छ । मृतकका बुबा सन्तोष वलीमा पनि कोरोना पोजिटिभ देखिएको छ । आफू संक्रमित भएको भन्दा श्रीमती संक्रमित भएपछि उनलाई बढी पीडा छ । ‘छोरीलाई कोरोनाले खोस्यो । श्रीमती पनि पोजिटिभ छन्,’ उनले भने, ‘अब त बाँच्नु र मर्नुमा के फकर रह्यो ? म आफैं पोजिटिभ छु ।’

गत शनिबार कोहलपुर नगरपालिका–९ झन्डहवाका ६० वर्षीय कोभिड संक्रमित पुरुषले घरमै आत्महत्या गरे । सुरुमा सामान्य उपचारका लागि मेडिकल कलेज कोहलपुर पुगेका उनलाई अस्पतालले उपचार गर्न मानेन । पीसीआर रिपोर्ट ल्याएमात्र उपचार गर्ने भनेपछि उनले कोरोना जाँच गरेर घर फर्के । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा बस्न चाहेनन् । घरमा अवस्था सुधार नभए पनि उनले परिवारसँग केही भनेनन् । ‘के समस्या थियो भन्ने नै थाहा भएन । अस्पतालले पनि पहिला उपचार गर्न मानेन,’ मृतकका छोरा टेकमान केसीले भने, ‘उपचार गरेको भए समस्या त थाहा पाउँथ्यौं । उपचार गर्न सकिन्थ्यो ।’

घरकै फ्यानमा डोरी बाँधेर झुन्डिएका उनलाई परिवारले निकालेर राख्दासम्म होसमा थिए । ‘एम्बुलेन्स बोलाइयो । समयमा आएन,’ माइला छोरा नेटबहादुर केसीले भने, ‘बोलाएको २ घण्टामा एम्बुलेन्स पुग्दै थियो, बुबाको सास गएपछि बाटोबाट एम्बुलेन्स फर्काइदियौं ।’ भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले क्रिटिकल अवस्था भएपछि मात्र अस्पताल आउने कारणले मृत्युदर बढ्दै गएको बताए । ‘अवस्था क्रिटिकल भएकालाई फर्काउने अवस्था कमै रहन्छ,’ उनले भने ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial