कोरोना भाइरस सिकाइमा परिबर्तन ल्याउने एउटा सुबर्ण अवसर –सन्तोष पोख्रेल



प्रकाशित: वैसाख २३, बिहिबार, बिराटनगर ।

कतै विद्यालयले बालबालिकाको सृजना त मारिरहेका छैनन् ? यो उमेरमा त बालबालिकाहरु अझ धेरै सक्रिय, क्रियाशील, अझ धेरै सृजनशील हुन पर्ने तर किन उनीहरु विद्यालय जान भन्दा नजान पाए खुशी हुन्छन् ? किन विद्यालयले पाठ्यपुस्तकमा मात्र बालबालिकालाइृ केन्द्रित गराउँछ वा किन शिक्षकले बालबालिकालाई उनीहरुले चाहे जस्तो मात्र बनाउन चाहन्छन् ?

नेपालको शिक्षा प्रणालीमा अव नयाँ परिवर्तन आउन ढिला भैसकेको छ । सरकारको मुख ताकेर वस्ने भन्दा पनि आफ्नो आफ्नो स्तरवाट के गर्न सकिन्छ भनेर सवैले सोच्नु पर्ने भएको छ । अरुलाई दोष लगाएर आफू पन्सने संस्कारको अन्त्य नभए सम्म हाम्रो शिक्षा प्रणालीमा पनि परिवर्तन ल्याउन कठिन छ । शिक्षामा पनि सहमति र सहकार्यको आवस्यकता टडकारो बनेको देखिन्छ । शिक्षा खास गरेर सेवामूलक कार्य भएता पनि यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको पाइन्छ । नाफाको लागि सत्यलाई पनि असत्य र असत्यलाई पनि सत्य भन्नु पर्ने परिस्थिती निर्माण हुदै गएको छ । जसको फलस्वरुप हामी हाम्रा वालवालिकाका अभिभावकहरुलाई पनि सही सुचना दिन सकिरहेका छैनौ । सिकाइलाई मात्र नाफा संग तुलना गर्नाले सहि सिकाइ नहुने कुरा त एकातर्फ छदैछ भने अर्कातर्फ विद्यार्थीको करियर सँग सम्बन्धीत सिकाइ भन्दापनि विद्यालयको सिकाइ उपलब्धी र नतिजा राम्रो ल्याउने नाममा विद्यार्थीहरुलाई बिषय छनौट गर्न उत्प्रेरित गरिदै आइएको तथ्यलाई नकार्न सकिदैन ।

एकातर्फ संस्थागत विद्यालयहरुले एक अर्का संग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थीतीका बावजुत सस्तो लोकपृयताका लागि विभिन्न खालका अस्वस्थ्य कृयाकलापहरु गर्नुपरेको छ । जसको कारण विद्यालयहरुको स्वस्थ्य छवी दिनानुदिन आलोचनाको सिकार बन्दै गएको छ । नाफामूलक संस्था भएको कारण विमा कम्पनी तथा जग्गा कारोवार गर्ने ब्रोकरले जस्तै विद्यालय संचालकहरुले रात दिन नभनि अभिभावकको घर घरमा पुगेर विद्यार्थी संकलनकालागि कमिसनको कारोवार गर्नु परेको अवस्था छ । यही अवस्था रहदै जानेहो भने धेरै संस्थागत विद्यालयका संचालक हरुले शिक्षा क्षेत्रबाटै विदा लिनु पर्ने स्थीतीको सृजना हुदैन भन्न सकिदैन । एकातिर सानो लगानीवाट विद्यालय संचालन गर्न अघिसरेका संचालक र ठूलो लगानी कर्ता संचालकहरु वीचको खाडलका कारण पनि संस्थागत विद्यालय माथी उठ्न सकिरहेका छैनन । अभिभावकहरुकै सहयोगमा पूवार्धार निर्माणदेखि गुणस्तरीय शिक्षा सम्मका सवै कार्यहरु गर्नुपर्ने भएकाले विद्यालयहरुले पनि सोचेजस्तो उपलब्धी दिन सकिरहेका छैनन भने सवैखालका र जुनसुकै स्तरका अभिभावक लक्षीत संस्थागत विद्यालय स्थापना भएकाकारण सिकाइको गुणस्तर सुधार हुन सकेको छैन ।

अर्कोतर्फ सामुदायीक विद्यालयहरुको क्षमता विकास सरकार र अभिभावकको सहकार्यमा गरिनु पर्दछ । सामुदायीक विद्यालयहरुमा भएका समस्याहरु पहिचान गरि विद्यालयलाई निश्चित मापदण्डका आधारमा संस्थागत र सामुदायीक विद्यालयलाइ प्रतिस्पर्धीको आधारमा हैन सहकर्मी संस्थाको रुपमा अगाडी बढाउनु पर्दछ ।

यी दुवै खालका विद्यालय को सम्पति भनेकै अभिभावकहरु हुन । उनीहरुको सन्तुष्टी नै विद्यालयहरुको सफलताहो । अभिभावकले के वुझुन भने मेरो बच्चाले जुन विद्यालयमा भर्ना भएपनि प्राप्त गर्ने सिकाइ उपलब्धि एउटै हो, सिकाइ स्तर एउटै हो र उसले प्राप्तगरेको उपलब्धी प्रति म सन्तुष्ट छु । त्यसैले अभिभावकले चाहेको र विद्यार्थीको रुचीअनुसारको आजको एकाइसौ सताब्दी सुहाउदो शिक्षा भनेकै जीवनोपयोगी शिक्षाहो । अब सबै खालका बिद्यालय हरुले बालबालिकाको सिकाई तरिकामा परिबर्तन ल्याउनु पर्दछ ।हिजोको परिक्षामुखी पेपर पेन्सिल टेस्ट बाट ३ घण्टा मा गरिने मुल्यांकनले बालबालिकाको क्षमता मापन गर्न सकिदैन भन्नेकुरा बुझ्न जरुरि छ ।

अहिले हामी कोरोना भाइरसको महामारीमा छौ ।सबै खालका बिद्यालय हरुले शिक्षा क्षेत्रको सिकाई बाताबरण र तरिकामा परिबर्तन ल्याउने यो एउटा सुबर्ण अवसर पनि हो । परम्परा बादी र पुरानो उत्पादन ले ग्राहकलाई संतुस्टि दिन नसक्दा धेरै उद्योग हरु बन्द भएजस्तो हाम्रा बिद्यालय हरु पनि बन्द हुन सक्छन । तेसैले यस्तो अवस्थामा हामीले शिक्षा प्रतिको सोच र दृष्टीकोणमा परिवर्तन ल्याउन जरुरी छ । सिकाइका तौर तरीकामा परिवर्तन ल्याउन जरुरी छ । मूल्याङ्कनका तरीकामा परिवर्तन ल्याउन जरुरी छ । अनावस्यक किसिमका भद्धा पद्धती भन्दा छिटो छरितो खालका मूल्याङ्कनका तरीका अपनाउनु पर्दछ । सवैखालका विद्यालयहरुले सिकाइलाई प्रयोगात्मक अभ्यास सँग जोड्नु पर्दछ । सिकाइ सम्बन्धमाभारतीय शिक्षाविद् रोहित धनकरले लेखेका छन्, “स्कुलमा सिक्नु भनेको किताबी विषयवस्तुका ज्ञान सिक्नु मात्र होइन। विश्वलाई, छिमेकलाई र आफैँलाई समेत हेर्न वा जाँच्न सक्ने दृष्टिकोण वा सीपको विकास गर्नु पनि हो। एउटा मानिसले सिकाइकै सिलसिलामा ‘कसरी’ सिक्न सकिन्छ, सिकाइलाई कसरी व्यवस्थित गर्न सकिन्छ र सिकेका कुराहरूलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरा पनि सिक्न सक्दछ।”

अहिलेको अवस्था सहज अवस्था होइन । जताततै एक प्रकारको त्रास र भय ब्याप्त छ । कोरोना भाइरस को कारण वालवालिका घरघरमा वसेका छन् । उनीहरु सवैमा एक प्रकारको अन्योलता छ । त्यो अन्योलता पनि सिकाइका अवसरहरु गुम्न लागो भनेर भन्नु भन्दापनि कक्षा चढ्न पाइन्छ या पाइदैन भन्नेमा रहेको छ ।गत वर्ष देखिनै पूर्ण रुपमा लाखौ विद्यार्थीहरु विद्यालयको फेस टु फेस कार्यक्रमवाट वञ्चति छन् भने वैकल्पिक शैक्षिक कार्यक्रम उपयोग गर्ने र कुनै पनि शिक्षण सिकाइ कार्यक्रममा सहभागि हुन नपाउने विद्यार्थीहरुको विचको खाडल बढ्दो छ ।

कोभिड १९ को कारणलेकुनै बिद्यालय बन्द छन् भने कुनै खुलिरहेका छन् यस्तो अबस्थामा अब एकै खालको सिकाइ प्रक्रिया उपयुक्त हुदैन । विद्यालय बन्द भएको लामो समय भइसकेको छ । अझै विद्यालय खोल्न कति समय लाग्छ भन्ने अन्यौल कायम नै छ । यदि यो कोभिड१९ को संक्रमण अन्त्य भएमा पनि विद्यालय खोल्न थप कति समय पर्खनुपर्दछ टुंगो छैन । यस अवधिमा हामी सबै बालबालिकाको पढाइका बारेमा चिन्तित छौं ।

यस क्रममा हामीले के गर्ने र के नगर्ने, कसरी बालबालिकालाई सिकाउने वा सिकाइका क्रियाकलापहरुलाई निरन्तरता दिने सम्बन्धमा छलफल भैरहेका छन् । साथै यस अर्थमा विद्यालय सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा पठनपाठनलाई कसरी सूचारुगर्ने भन्ने सन्दर्भमा विकल्पहरुको खोजी भैरहेको छ । तर अब हामीले विद्यालयको विकल्प संगै सिकाइ प्रक्रियाको विकल्प खोज्नु जरुरि भैसकेको छ ।पाठ्यपुस्तक केन्द्रित र शिक्षक केन्द्रित सिकाइ कै पर्याय खोज्नु पर्दछ वा उपलब्धि केन्द्रित, बालकेन्द्रित र सिकाइ केन्द्रित विकल्पहरुका बारेमा निष्कर्समा पुग्न अबेला भैसकेको छ ।

सिकाइ जहिले पनि र जहाँ पनि भैरहन्छ । यो नियमित र प्राकृतिक प्रक्रिया हो । तर महत्वपूर्ण पक्ष चै के सिक्ने र कसरी सिक्ने भन्ने नै हो । सायद यही के सिक्ने र के सिकाउने भन्ने विषयले कसरी सिकाउने भन्ने प्रक्रियालाई निर्धारण गर्दछ । तर यसो भन्दैमा सिकाइका लागि जहिले पनि औपचारिक वातावरण र निश्चित विषयवस्तु आवश्यक पर्छ भन्ने छैन । अझ अनौपचारिक वातावरणमा सिकाइ झन् प्रभाबकारी हुन्छ ।

बालबालिकाहरु स्वभावैले केही न केही कार्यमा सक्रिय र आफुलाई संलग्न राखिरहन्छन् । यो उनीहरुको सिकाइको एउटा महत्वपूर्ण प्रक्रिया हो । यो उमेर बालबालिकाको सिकाइको जग बस्ने पनि उमेर हो । बालबालिकाले आफ्नो वरीपरीको वातावरणबाट प्रकृतिक र स्वभाविकरुपमा सिक्न पाए भने उनीहरुको सिकाई छिटो र परिणाममूखी हुन्छ । बालबालिकाको सिकाइका लागि वातावरणले महत्वपूर्ण भूमिका खेल्छ भन्ने सन्दर्भमा धेरै बिचारहरुआएका छन् र यस्ता बिचारहरुले विद्यालय केन्द्रित पठनपाठन बालबालिकाको सिकाइको लागि प्रभावकारी हुदैनन् भन्ने तर्क गर्दछन् । 

‘प्रोफेसर केन रविन्सन’ भन्छन, "कतै विद्यालयले बालबालिकाको सृजना त मारिरहेका छैनन् ? यो उमेरमा त बालबालिकाहरु अझ धेरै सक्रिय, क्रियाशील, अझ धेरै सृजनशील हुन पर्ने तर किन उनीहरु विद्यालय जान भन्दा नजान पाए खुशी हुन्छन् ? किन विद्यालयले पाठ्यपुस्तकमा मात्र बालबालिकालाइृ केन्द्रित गराउँछ वा किन शिक्षकले बालबालिकालाई उनीहरुले चाहे जस्तो मात्र बनाउन चाहन्छन् ?" यस्तै बिचार ‘इभान इलिच’ले विद्यालय आवश्यक छैन भनेर चलाएका थिए । विद्यालय वा बन्द कक्षा कोठाको सिकाइ भन्दा प्रकृति नजिक वा प्रकृतिबाट नै सिकाइ प्रभावकारी र अर्थपूर्ण हुन्छ भनेर अहिले नर्वे लगायतका देशहरुले प्रकृतिमा विद्यालय अथवा जंगल स्कूलहरुसञ्चालन गरिरहेका छन् । यि विद्यालयमा बालबालिकाहरुलाई दिनभरी जंगलमा लगिन्छ, स्वतन्त्ररुपमा बालबालिकाहरुझार पात, रुख, हाँगाबिंगा तथा जे जे हुन्छन् जंगल भित्र तिनीहरुसँग खेल्छन्, यसैका बारेमा कुरा गर्छन् र सिक्छन् ।यो सन्दर्भ अहिले हाम्रो लागि अति उपयोगी रहेको छ ।

अहिले ६ कक्षामा पढ्ने विद्यार्थी २०७२ सालको विनाशकारी भुकम्प जाँदा भर्खरै विद्यालय प्रवेश गर्दै थिए। त्यो बेलामा केही बुझ्ने भइसकेका थिए। ५ वर्षको अन्तराल देखिनै फेरि ठूलो महामारी यिनले भोगिरहेका छन्। हुर्कँदो उमेरका बच्चाहरुले जुन समस्या भोगिरहेका छन् सायद यसको असर पछिसम्म देखिन्छ । यी उमेरका नानीबाबु हुर्काउने आमाबाबुले यस कुरालाई मनन गर्नैपर्छ। अभिभावकको जिम्मेवारी यो असरबाट कसरी बचाउने भन्ने नै हो। यो असरलाई सामान्य तरिकाले बुझ्न हुँदैन। र सिकाइलाई विद्यालयको जिम्मेबारी को रुपमा मात्र लिनु पनि हुदैन झनै अहिलेको अवस्थामा त उनीहरुका गतिविधिलाई सामान्य तरिकाले बुझ्नै हुँदैन।

घर पहिलो पाठशाला हो। बाबु आमा पहिलो गुरु हुन्। बालबालिकाले घरमा धेरै कुरा सिक्ने गर्दछन्। विश्वमा विद्यालय नहुँदा पनि मानिसले सिक्ने र नयाँ कुराको खोज र आविष्कार गर्न कहिल्यै छोडेनन्। त्यसैले सिकाइ विद्यालयमा मात्र हुन्छ भन्ने छैन। घरमा रहेर पनि बालबालिकाले धेरै कुरा सिक्न सक्छन्। बाबुआमा र अभिभावकले घरमै सिकाइको वातावरण निर्माण गरेर बालबालिकालाई सिक्न प्रेरित वा सहयोग गर्नु पर्दछ । घरमा आफ्ना छोराछोरीको उमेर अनुसार उनीहरुलाई के सिकाउँदा उपयुक्त हुन्छ छलफल गर्नु पर्दछ । अहिलेको अबस्थामा बालबालिकालाई स्कुलको पुस्तक, परीक्षा, नतिजा भन्दा टाढा राखिनु पर्दछ । बिद्यालय लागे पछि त्यहीं सिक्छन्। घरमा रहंदा यस्तो कुरा सिकाउनु पर्दछ जुन कुरा पुस्तकमा पढ्न पाइदैन र विद्यालयमा पनि सिक्न सकिन्न।

यति बेला आफ्ना नानी हरुलाई घरायसी जीवनका लागि आवश्यक जीवनोपयोगी सीपहरु जस्तै बिहानै उठेर आफ्नो ओच्छ्यान आफैं मिलाउने,कोठा बडार्ने , ग्यास चुलो बाल्ने र निभाउने, किचनमा भएका सबै भाँडाकुँडाका नाम बताइ दिने,खाना पकाउँदा चाहिने सबै मसलाको नाम बताइ दिने,तरकारी काट्न, प्रेसर कुकरको बिर्को लगाउन, चामलमापानी अड्कल्न, नुन र चिनीको मात्रा अड्कल्न लगाउने,उनीहरुले आफूले लगाएको कपडा आफैं धुन सिकाउने धोएको कपडालाई मिल्ने भए मिलाएर आइरन लगाउन सिकाउने,सहरका बालबालिका गाउँ घरमा भए घाँस काट्ने हँसिया, खेत खन्ने कोदालो, डोको, थुन्से, ढिकी, जाँतो, ठेकी लगायत सबै देखाइ दिने ,सम्भव भए प्रयोग गर्न लगाउने आदि कार्य हरु गर्न सिकाउनु पर्दछ। 

यसैगरी आफ्नो संस्कार र सभ्यता हरु जस्तै भाषा, शिष्टता, विनम्रता, इमान्दारिता लगायत सबै कुरा हामी बाट नै उनीहरुले ग्रहण गर्ने भएकोले यो विषयमा बडो सचेत रहनु पर्दछ। हाम्रा परम्परा,मूल्य, मान्यता, आदिको बारेमा सिकाउनु पर्दछ।छिमेकी संग गर्न सकिने सहमति र सहयोग, आपसी सहयोग आदानप्रदान साथै बालबालिका हरुलाई आफ्ना आफन्त र छिमेकीको हुन् भनेर चिनाउनु पर्दछ ,आफ्नो परिवार र पूर्खा कहाँबाट आए ?कसले के के पेसा गर्छन् र अहिले कहाँ छन् ? आफ्नो परिवार वा समुदायका मौलिक परम्परा के हुन् ? चाडपर्व के के हुन् ? कसरी मनाइन्छ ? तिनको महत्व के छ ? लगायत सबै बताइदिनुपर्दछ । मौलिक नाच, गीत र संगीत कस्ता छन?भाका कस्ता छन ? बाजागाजा कस्ता छन्, कसरी बजाउने ? सम्भव भएसम्म सबै देखाइदिनु पर्दछ। विभिन्न खालका नाफा मुलक काम हरु गर्न चाहिने पैसा कहाबाट प्राप्त गर्न सकिन्छ? ब्यबसाय सफल बनाउन के कस्तो व्यवहार गर्नु पर्छ ? बचत गर्दा के फाइदा हुन्छ र कसरि गर्न सकिन्छ ? जस्ता कुरा हरु सिकाउनु पर्दछ ।

यसरी सिकाउँदा आफू विषयवस्तुको विज्ञ हुनुपर्छ भन्ने जरुरी छैन। मात्र वातावरण निर्माण गरिदिने हो। सिक्ने काम बालबालिका आफैं गर्नेछन्। अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “म मेरा विद्यार्थीलाई पढ्न कहिल्यै पनि दबाब दिन्न, बरु उनीहरुले आफैंले सिक्न सक्ने वातावरणको निर्माण गरिदिन्छु।“ तपाइंले घरमा निर्माण गरिदिने वातावरण उनीहरुको सिकाइकालागि सबै भन्दा उत्तम बन्न सक्दछ ।

सुनेर, हेरेर, छोएर, गरेर, भोगेर, प्रयोग गरेर सिकेको ज्ञान सबैभन्दा महत्वपूर्ण हुन्छ। यस्तो सिकाइ दीर्घकालीन र व्यवहारिक पनि हुन्छ। यसमा न त तोकिएको बाध्यकारी पाठ्यक्रम नै छ, न त पट्यार लाग्दा पाठ्यपुस्तक नै। यस्तो किसिमको सिकाइले बालबालिकालाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा सहभागी बनाउँछ। उत्सुक बनाउँछ। अनुसन्धानात्मक र अध्ययनशील बनाउँछ। सोचाइलाई बहुआयामिक बनाउँछ। समालोचनात्मक सोचको विकास गर्दछ।

अहिले विश्वमा सिकाइलाई कक्षाकोठा भन्दा बाहिर पनि लैजाने विषयमा थुप्रै अध्ययन हुँदै छन्। सोही अनुरुपका पाठ्यक्रम बन्दैछन्। तसर्थ, हामी अभिभावककालागि सिकाइको नवीनतम अभ्यासगरेर यस्तो पो सिकाइ भनेर प्रमाणित गर्ने अवसर पनि हो अहिले को संक्रमणकालिन अवस्था । भोलि बिद्यालय खुले पछी विद्यालयलाई बाटो देखाउने अवसर पनि हो।

यस्तो संकटको अवस्था बेलाबेलामा आइरहेको हुन्छ यस्तो अबस्थामा हामीले परिक्षामुखी कार्यसैली भन्दा बिद्यार्थी को सिकाई बाताबरण र सिकाई सैलिमा जोड दिनु पर्दा छ ।वर्तमान शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली कायमै रहेमा विद्यार्थीहरुको अन्योलता कायमै रहने अवस्था छ । अहिलेको यो विषम परिस्थितिमा वैकल्पिक शैक्षिक कार्यक्रमप्रयोग गर्ने वालवालीकाहरुले शैक्षिक क्यालेण्डर अनुसारनै आफ्नो सिकाइ क्रियाकलाप अगाडी बढाउदै आएका छन् भने शिक्षकहरुले पनि अनलाइन शिक्षण, रेडियो टिभी शिक्षण लगायतका उपायहरु सकेसम्म प्रयोग गर्दै आएका छन् । अभिभावकहरुले पनि आआफ्नो योग्यता र क्षमताले भ्याएसम्म आफ्ना वालवालिकाहरुलाई सिकाउदै पनि आएका छन् । यस्तो अवस्थामा धेरैको वुझाइ के रहेको छ भने जतिवालवालिकाहरु विद्यालय भर्ना भएका छन् र विद्यालयको फेसटु फेस सिकाइ कार्यक्रमवाट वञ्चीत छन, सवै बालबालिका कुनै पनि सिकाइ गतिविधिमा संलग्न भएका छैनन् र पूर्ण रुपमा सिकाइ कार्यक्रमबाट वञ्चीत छन् भन्ने वुझाइ छ । यो कुरा शिक्षा क्षेत्रमा काम गर्ने सवै सरोकारवालाहरुले चिर्न जरुरी छ ।

वालवालिकाको सिकाइ अनुभवमा आधारीत पनि हुन्छ । उनीहरुले अहिले कोरोना समस्या के हो ?यसले के प्रभाव पारेको छ ? सामाजिक क्षेत्रमा आइपर्ने यस्ता समस्याहरुलाई कसरी समाधान गर्नुपर्ने रहेछ? भन्ने जस्ता समाजसंग सम्बन्धीत बिषय वस्तुहरु सिकीरहेका छन । समाजमा आइपर्ने कठीनाइहरुसंग जुध्नका लागि के कस्ता कार्यहरु गर्नुपर्ने रहेछ भन्ने कुरा पनि जानेका छन । यदि नसिकेका र नजानेका भए हामी अभिभाबक हरुले पनि यस्ता कुरा हरु सिकाउनु पर्दछ ।विभिन्न संचार माध्यमहरुमा संलग्न भएर,वालवालिकाहरुले खेलको माध्यमबाट होस् वा सिनेमाहरुको माध्यमबाट होस् वा विभिन्न टेलिभिजनका हास्य ब्यंग सृङ्खलाबाट होस् वा विभिन्न गीत संगीतको माध्यमवाट होस वा टेलिभिजनका कार्टुन सृङ्खलाहरुको माध्यमवाट होस् केही न केही सिकीरहेका हुन्छन् । यस्ता अनौपचारीक सिकाइलाई आधार मानेर सिकाइको प्रमाणिकरण गर्ने र कक्षा अपग्रेड गर्ने पद्धतीको विकास गरी यो सूचना सवै वालवालीकासम्म पुर्याउन सकेमा अहिलेको सिकाइ अवरोधलाई न्यूनीकरण गर्न सकिन्छ । यो अनुभवलिनका लागि कुनै देशपुग्नु पर्ने अवस्था छैन नेपालमै प्राविधिक शिक्षातर्फ सीप परीक्षण केन्द्रले यो प्रयोग विगतलामो समयदेखि गर्दै आएको छ ।

जवसम्म कुनै कुरा प्रणालीगत अवधारणको आधारमा लागु गरिदैन तवसम्म यो जतिनै राम्रो भएपनि उपयोगमा ल्याउन सकिंदैन । कुनै नयाँ अवधारणामा प्रवेश गर्नु पर्दा पुरानो कुराले आकर्षित गरिरहेको हुन्छ । त्यस्ता कुरालाइ त्यागेर अगाडी बढ्नका लागि हाम्रो परम्परावादी सोचले अबरोध गर्दछ । त्यस्ता सोचमा पुनर्विचार गरेर अगाडी बढ्नु आजको आवस्यकता पनि हो ।

यस्तो अबस्थामा हामीले आगामी लामो समयसम्मका लागि संकटकालीन शिक्षाको निकास सम्बन्धी कार्यक्रम तथा योजना बनाउन जरुरी छ । जसका लागि यस प्रकारका केही कार्यक्रम हरु उपयोग गर्न सकिन्छ ।

नेपालमा विगत लामो समयदेखि औपचारिक र अनौपचारीक शिक्षामा खुला सिकाइका मोडलहरु प्रयोग गरिदै आइएको छ । यस्ता खुला सिकाइमा प्रयोग भएका प्राथमिक शिक्षा विस्तार कार्यक्रम, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, निमा तह र माध्यमिक तहको खुला विद्यालय कार्यक्रम जस्ता कार्यक्रमहरुको मोडालिटीमा सिकाइ प्रक्रिया अगाडी बढाउनु पर्दछ । जसले गर्दा सिकाइ सामग्री तयार गर्न र लागु गर्न कठिनाई हुँदैन ।

यसरी नेपालमा भएको अहिलेको वर्तमान शैक्षिक समस्या समाधान गर्न सम्बन्धित निकायहरुले एक नयाँ तरीकाबाट अगाडी नबढ्ने हो भने शिक्षामा न परिवर्तन गर्न सकिन्छ । न कुनै उपलब्धि प्राप्त गर्न सकिन्छ । विद्यालय कहिले खुल्छ भन्ने केही पनि जानकारी नहुँदा बालबालिकामा अन्यौलता देखिएको अवस्थामा उनीहरुको जिज्ञासा वेलैमा समाधान गर्न नसकेमा स्थिति झन् जटिल बन्दै जान्छ ।

यो अवस्थामा विद्यालय खुल्ने नखुल्ने, सिक्ने सिकाउने प्रकृया वा विद्यालय र बालबालिकाका विच संभावित नियमित अन्तरकृया सम्वन्धमा विद्यालय परिवारले बालबालिकालाई आवश्यक सुचना जानकारी नियमित दिनु आवश्यक देखिएको छ । धेरै विद्यालयहरुमा अनलाइन वा वैकल्पिक कक्षाका लागि आधारभूत संरचना र प्रविधि नै नभएको पाइएको छ । शिक्षकहरुमा सो सम्वन्धी आवश्यक प्राविधिक क्षमता समेत नहुँदा बैकल्पिक कक्षाको प्रभावकारितामा समस्या देखिएको छ । विद्यालयलाई सबल र शिक्षकहरुलाई सक्षम बनाउनतिनै तहको सरकार, विकास साझेदार र सरोकारवाला निकायहरुको सहकार्यता र विशेष प्राथमिकता आवश्यक छ ।

लेखक : सन्तोष पोख्रेल 
विराटनगर 
(लेखकः आदर्श माध्यमिक विद्यालय विराटनगरका सहायक प्रधानाध्यापक हुनुहुन्छ )

** यस लेखमा व्यक्त गरिएका विचार लेखकका आफ्नै हुन् र तिनीहरूले राष्ट्रिय टाइम्सको धारणा प्रतिबिम्बित गर्दैन **

.

प्रतिक्रीया दिनुहोस :

1 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

  1. अवसरको रुपमा प्रयोग गर्न जाने, अत्यन्तै ठूलो मौका हो यो समय । एकदमै राम्रो लेख रचना सन्तोष सर ।

    ReplyDelete

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial